‘बाहुबली’ भन्दा पनि भब्य बन्दै प्रभासको ‘साहो’, भारतीय बक्स अफिसको रेकर्ड तोड्ने तयारीमा

डिसी नेपाल
२७ साउन २०७५ १२:३१

मुम्बइ। बाहुबली सिरिजको अपार सफलतापछि अहिले जो कोहीले प्रभासको अर्को फिल्मको प्रतिक्षा गरिरहेका छन् । यो प्रतिक्षा यसकारण पनि विशेष छ किनकि बाहुबलीपछि प्रभासको कुनै पनि फिल्म रिलिज भएको छैन । यही बीचमा प्रभासको अर्को फिल्म ‘साहो’को विषयमा केही खबर बाहिरिएका छन् । यी खबरलाई मान्ने हो भने ‘साहो’ बाहुबलीभन्दा पनि भव्य हुनेछ र यसले अहिलेसम्म भारतीय बक्स अफिसमा बनेका सबै रेकर्ड तोड्ने सम्भावना छ ।

फिल्मसँग जोडिएको सूत्रले मिररसँग कुरा गर्दै फिल्मका केही दृश्य अबुधाबीमा सुटिङ भएको जनाएको छ । यी एक्सन सिनमा कार, बाइक र हेलिकप्टरबाट निकै खतरनाक दृश्य र स्टंट गरिएका छन् । फिल्मको तेस्रो शेड्युलको सुटिङ प्रभास र श्रद्धा कपुरको साथमा हैदराबाटमा भइरहेको छ । यसपछि फिल्मको अन्तिम क्लाइमेक्स सिनको सुटिङ रोमानियामा हुनेछ । जानकारीका अनुसार साहोमा प्रभासको एक्सन स्टन्ट सिन बाहुबलीको भन्दा तीन गुणा बढी खतरनाक हुनेछन् । फिल्मको सुटिङ यो महिनाको अन्त्यसम्म सकिने अपेक्षा गरिएको छ ।

साहो दक्षिण भारतको सबैभन्दा ठूलो फिल्म बन्ने बताइएको छ । यो फिल्ममा पहिलो पटक श्रद्धा कपुर प्रभाससँग देखिनेछिन् । साहो फिल्को सुटिङका केही तस्वीर भाइरल भइसकेका छन् । फोटोमा प्रभासको लुक हेर्दा पनि यो फिल्म निकै भव्य हुने अनुमान गर्न सकिन्छ । साहोमा प्रभासको साथमा श्रद्धा कपुर, निल नितिन मुकेश, ज्याकी श्राफ र मन्दिरा बेदीसमेत छन् । पछिल्लो समाचार अनुसार साहो बाहुबली २ रिलिज भएकै दिन अप्रिल २८ मा रिलिज हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *