१८ वर्षमुनिको फुटबलमा नेपालले चीनलाई हरायो

डिसी नेपाल
९ असोज २०७५ १४:११

काठमाडौँ। भारतमा जारी ४६ औँ संस्करणको एशियन १८ वर्षमुनि यू–१८ स्कुल च्याम्पियनसीपमा नेपालले आज चीनलाई पराजित गर्दै विजयी भएको छ ।

भारतको आगरामा भएको खेलमा नेपालले चीनलाई ३–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । यसअघि दुई खेल खेलेको नेपालले दुवै खेलमा हार बेहोरेको थियो । नेपाल थाइल्याण्डसँग २–० र इन्डोनेसियासँग २–१ गोलअन्तरले पराजित भएको थियो ।

नेपालको जितमा टीका गुरुङले दुई गोल गरे भने दिनेश हेन्जनले एक गोल थपे । खेल सुरुवातीको सातौँ मिनेटमा टीकाले गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाए । त्यस्तै खेलको पहिलो हाफको ३२ औँ मिनेटमा चीनका खेलाडीले एक गोल गर्दै एक एक गोलको बराबरीमा ल्याए ।

त्यसैगरी खेलको ७० औं मिनेटमा नेपालका लागि दिनेशले एक गोल थपे भने उनले गोल गरेको चार मिनेट बित्न नपाउदै टीकाले एक गोल थपे । नेपालले समूह चरणको अन्तिम खेल भोलि बुधबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली खेलाडी रिजेन्द्रले क्यानडाका जीएमलाई हराए जर्जियामा जारी ४३औँ चेस ओलम्पियाडमा नेपालका रिजेन्द्रराज भण्डारीले क्यानडाका जीएम अमनहाम ब्लेटोनलाई १–० अङ्कले हराएका छन् ।

आज भएको पहिलो चरणको खेलमा रिजेन्द्रले जिते पनि नेपाली पुरुष टोली क्यानडासँग समग्रमा ३–१ ले पराजित भयो । नेपाली टोलीका अन्य खेलाडीहरु मदनकृष्ण कायस्थ क्यानडाका जीएम इरिक हसनसँग, विवेक लामा जीएम राजभान प्रेतुसँग र रुपेश जैसवाल आईएम निकोली नोरिस्यानसँग पराजित भए ।

यसैगरी महिलातर्फ पहिलो चरणको खेलमा नेपाली टोली लात्भियासँग ४–० ले पराजित भएको छ । नेपालकी सुशीला गुरुङ लात्भियाकी डब्लूजीएम लौरा रोमुलसँग, सिन्दीरा जोशी डब्लूजीएम लाजे बोरजीनासँग, सुजना लोहनी डब्लूएफएम इलिना ओटिकोभासँग र नेपाल च्याम्पियन मोनालिसा खम्बु डब्लूएफएम लिन्दा कुरमिनासँग पराजित भए ।

दोस्रो चरणमा महिला टोलीले कोस्टारिकासँग प्रतिस्पर्धा गर्नेछ। असोज १९ गतेसम्म चल्ने उक्त चेस ओलम्पियाडमा १८५ देशका १६ सय ६८ खेलाडीले प्रतिस्पर्धा गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *