शेखको कप्तानीमा यू–१९ एशिया कप क्रिकेट टोलीको घोषणा, सन्दीप युएइ लिगमा

डिसी नेपाल
१० असोज २०७५ १:५२

काठमाडौँ । यू–१९ एशिया कप क्रिकेटका लागि १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको मङ्गलबार घोषणा गरिएको छ।

बङ्गलादेशमा यही असोज १२ देखि असोज २१ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि मोहमद आरिफ शेखको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिएको राष्ट्रिय टोलीका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए।

टोलीमा कमलसिंह ऐरी ९उपकप्तान०, रोहितकुमार पौडेल, रवी साह, नन्दन यादव, रित गौतम, पवन सर्राफ, रवीन्द्रजङ्ग शाही, रशिद खान, भीम सार्की, अरुण ऐरी, तीर्थराज दास, सन्दीप जोरा, सागर ढकाल र सूर्य तामाङ रहेका छन्। टोलीको व्यवस्थापकमा शक्ति गौचन, मुख्य प्रशिक्षकमा विनोद दास तथा सहायक प्रशिक्षकमा मनोज कटुवाल रहेका छन्। नेपाली टोली बिहीबार ढाका प्रस्थान गर्नेछ।

सन्दीप युएइ लिगमा आबद्ध
नेपाली युवा स्पिनर सन्दीप लामिछानेले युएइको टि–२० लिग खेल्ने भएका छन्। उनलाई केरला किंग्स क्लबले अनुबन्धित गरेको हो।

आगामी नोभेम्बर महीनामा हुने उक्त लिगमा सन्दीप रहेको क्लबमा इङ्ग्ल्याण्डका कप्तान इयान मोर्गन, वेष्ट इण्डिजका क्रिस गेल, केइरन पोलार्डजस्ता खेलाडी समावेश छन्। इण्डियन प्रिमियर लिगबाट टी–२० क्रिकेटमा चर्चित बनेका सन्दीपले हालै क्यारेबियन प्रिमियर लिग (सिपीएल) र क्यानडामा सम्पन्न ग्लोबल टी–२० खेलिसकेका छन् भने अफगानिस्तान प्रिमियर लिगमा समते उनी आबद्ध भइसकेका छन्। युएइ लिग आगामी नोभेम्बर २३ देखि डिसेम्बर २ तारिखसम्म हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *