विश्व टी–ट्वान्टी छनोट : म्यानमारमाथि नेपालको शानदार जित

डिसी नेपाल
१७ असोज २०७५ १३:५१

काठमाडौं । आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट अन्तर्गत एसिया छनोट समूह बी को पहिलो खेलमा नेपालले म्यानमारलाई ८ विकेटले पराजित गरेको छ। ३० रनको विजयी लक्ष्य पाएको नेपालले ३ ओभरमा २ विकेट गुमाएर जित हात पार्यो।

टस जितेर पहिला ब्याटिंग गरेको म्यानमारले १० ओभरमा २९ रन बनाउँदा सबै विकेट गुमाएको थियो। नेपालले अनिल शाह र प्रदिप ऐरीको विकेट गुमाएको हो। नेपालका लागि करण केसीले विजयी छक्का प्रहार गरे। उनले ८ बलमा १४ रन बनाएका थिए। यस्तै अनिल शाहले ५ बलमा ११ रन बनाएका थिए।

वर्षाका कारण ढिलो शुरु भएको खेलमा नेपालले शुरुदेखि नै म्यानमारलाई दबाबमा राखेको थियो। स्कोर बोर्डमा ४ रन हुँदा पहिलो विकेट गुमाएको म्यानमारले अन्तिम १ रन जोड्दा ६ विकेट गुमायो।

नेपालका लागि सबैभन्दा सफल बलर स्पीनर सन्दिप लामिछाने भए। उनले २ ओभरमा ३ रन दिएर ४ विकेट लिए। उनले आफ्नो दोस्रो ओभरमा ३ विकेट लिएका थिए।

यस्तै ललित नारायण राजवंशीले पनि उत्कृष्ट बलिंग गर्दै ३ ओभरमा २ मेडनसहित ३ रन दिएर ३ विकेट लिए। करण केसीले एक विकेट लिएका थिए भने म्यानमारले अन्तिम विकेट रनआउटका रुपमा गुमाएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *