नेपालले यसरी खेल्न सक्छ विश्वकप क्रिकेट, आईसीसीले बनायो यस्तो रोडम्याप

डिसी नेपाल
४ कार्तिक २०७५ १२:५३

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले एक दिवसीय विश्वकप क्रिकेटका लागि नयाँ रोडम्याप तयार गरेको छ। सिंगापुरमा शनिबार बसेको आईसीसीको बोर्ड बैठकले विश्वकपका लागि नयाँ बाटो तयार गरेको हो।

आईसीसीले सन् २०२३ को एक दिवसीय पुरुष विश्वकपलाई मध्यनजर गर्दै नयाँ रोडम्याप तयार गरेको छ। जहाँ विश्वकप खेल्ने टोलीको छनोट प्रक्रियाहरु रहेका छन्।

भारतमा हुने सन् २०२३ को विश्वकपमा १० टोलीले खेल्ने छन्। तर, विश्वकप अघिको २ देखि ३ बर्षको अवधिमा विभिन्न राष्ट्रले ३७२ छनोट खेल खेल्ने छन्। यसले तल्लो तहका राष्ट्रले समेत माथिल्लो स्तरको राष्ट्रसंग खेल्न पाउने अवसर पाउने बताईएको छ।

विश्वकपको नयाँ बाटो अनुसार ३ वटा लिगहरु हुनेछन्। जसमा आईसिसी सुपर लिग, आईसिसी लिग–२ र च्यालेन्ज कप हुनेछ।

आईसीसी सुपर लिगमा १२ टेष्ट राष्ट्र र नेदरल्याण्ड गरी १३ टिम रहनेछन् । आईसीसी सुपर लिगको शीर्ष ८ टोलीले विश्वकप खेल्ने छन् ।

सुपर लिगका बाँकी पाँच टिमले सन् २०२२ को विश्वकप छनोट खेल्ने छन्। विश्वकप छनोटमा १० टोलीले खेल्ने छन्। जसमा शीर्ष दुई टोलीले विश्वकप खेल्ने छन्।

यस विश्वकप छनोटमा सुपर लिगका पाँच, आईसीसी लिग २ का ३ र विश्वकप छनोट प्ले अफका २ टोलीले खेल्ने छन्।

आईसीसी लिग २ मा एकदिवसीय मान्यता पाएका ७ टोलीले खेल्नेछन्। यस लिगमा नेपालसहित, युएई, स्कटल्याण्ड र डिभिजन २ बाट आएका ४ टोलीले खेल्नेछन्।

शीर्ष ३ टोलीले विश्वकप छनोट खेल्ने छन्। बाँकी ४ टोलीले विश्वकप छनोट प्ले अफ खेल्नेछन्। प्ले अफमा ६ टोलीले खेल्ने छन्। थप दुई टोली च्यालेन्ज कपबाट आउने छन्।

च्यालेन्ज कपमा विश्व क्रिकेट लिगमा रहेका मध्ये २१ देखि ३२ वरीयताका १२ टोलीले खेल्ने छन्। १२ टोलीलाई २ समूहमा विभाजन गरिने छ। दुई टोलीको विजेताले विश्वकप छनोट प्ले अफमा स्थान बनाउने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *