महिला च्याम्पियनसिप छनोट खेल : थाइल्याण्ड जाँदै नेपाली टोली

डिसी नेपाल
४ कार्तिक २०७५ १५:३४

काठमाडौं । नेपाली यू-१९ महिला फुटबल टोलीले यसै साताबाट सुरु हुने एएफसी यू-१९ महिला च्याम्पियनसिपको छनोट खेल खेल्दैछ । थाइल्याण्डमा आयोजना हुने छनोटका लागि नेपाली टोली सोमबार थाइल्याण्ड जाँदैछन् ।

आगामी बुधबारबाट सुरु हुने छनोटमा नेपाल समूह ‘बि’ मा रहेको छ । नेपालको समूहमा आयोजक थाइल्याण्ड, भारत र पाकिस्तान रहेको छ ।

छनोटमा थाइल्याण्ड नेपालको लागि नौलो प्रतिद्वन्द्वी हो । भारत र पाकिस्तानसंग भने नेपालले प्रतिस्पर्धा गरिसकेका छन् । तीनै टोली नेपालका लागि कठिन प्रतिद्वन्द्वी हो ।

तर, नेपालले कठिन प्रतिद्वन्द्वीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य बनाएको छ । थाइल्याण्ड जानुअघि नेपाली टोलीका मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले नेपाली टोली पनि बलियो रहेको बताउदै छनोटमा उच्च प्रदर्शन गर्ने बताए ।

‘हामी आफैमा बलियो टोली हौ । हामीले भारत, पाकिस्तान जस्ता टोलीलाई हराईसकेका छौं,’ प्रशिक्षक श्रेष्ठले भने, ‘हाम्रो लागि नयाँ टोली थाइल्याण्ड हो । तर, हामीलाई थाइल्याण्डसंग डर छैन ।’

नेपालले बुधबार चोनबुरी स्टेडियममा थाइल्याण्डसंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै नेपालले दोस्रो खेलमा भारतसंग अक्टोबर २६ र अन्तिम खेल पाकिस्तानसंग २८ अक्टोबरमा खेल्नेछ ।

थाइल्याण्ड जाने नेपाली टोलीमा भुटानमा सम्पन्न महिला यू-१८ साफ च्याम्पियनसिप खेलेका खेलाडीको बाहुल्यता छ । यस्तै नेपाली टोलीमा तीन खेलाडी राष्ट्रिय टोलीका सदस्य छन् ।

प्रशिक्षण श्रेष्ठले गोलकिपर अन्जना राना मगर, कप्तान सरु लिम्बु र मन्जली योन्जन टिममा रहनु टिमको लागि फाइदा रहेको बताए । तीनै खेलाडी राष्ट्रिय टोलीमा समेत रहेका छन् ।

‘हाम्रो तयारी कम भएपनि छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य छ । हामीसंग हौसलाको स्रोत भनेको तीन जना खेलाडी राष्ट्रिय टोलीका खेलाडी रहनु हो,’ प्रशिक्षक श्रेष्ठले भने ।

यस्तै कप्तान सरु लिम्बुले छनोट खेलमा नेपालको लक्ष्य उत्कृष्ट प्रदर्शन गर्नु रहेको बताईन् । नेपालले भारत र पाकिस्तानलाई हराईसकेको कारण नेपाललाई सहज हुने सरुले दाबी गरिन् ।

‘छनोट खेलमा रहेका थाइल्याण्डबाहेक अन्य दुई टोलीलाई हामीले हराईसकेका छौ । यसले हामीलाई छनोटमा सहज बनाएको छ,’ कप्तान सरुले भनिन्, ‘हामी हाम्रो कमजोर पक्षलाई बलियो बनाएर मैदान उत्रने छौ ।’

कप्तान सरुले सरुले भुटानमा सम्पन्न यू-१८ महिला साफबाट नेपाली टोलीले धेरै कुरा सिकेको समेत बताईन् । यस्तै उनले भुटान साफको गल्तीहरु नदोहोर्याउने बताईन् ।

छनोटको समूह विजेता टोलीले दोस्रो चरणको छनोटमा स्थान बनाउनेछन् । यस्तै पहिलो चरणको छनोटको उत्कृष्ट दुई उपविजेताले पनि दोस्रो चरणमा स्थान बनाउनेछन् । छनोटको पहिलो चरणमा ६ समूहबाट २५ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

आगामी अप्रिलमा हुने दोस्रो चरणको छनोटमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसबाट ४ टोलीले एएफसी यू-१९ महिला च्याम्पियनसिप खेल्नेछ । एएफसी यू-१९ महिला च्याम्पियनसिप अर्को बर्ष थाइल्याण्ड मै आयोजना हुनेछ ।

च्याम्पियनसिपका लागि चीन, जापान र उत्तर कोरिया छनोट भईसकेका छन् ।

नेपाली टोली :

गोलकिपर – अन्जना राना मगर, उषा नाथ, कविता राई

डिफेन्डर – निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समिक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फरसवान, पुजा राना मगर

मिडफिल्डर – सरु लिम्बु, मन्जली कुमारी योन्जन, शुभद्रा खड्का, अस्मिता बैद्य, मनिषा राउत,सुहानी कुसुवार, सृजना सिंह ठकुरी, सम्झना लावती

स्ट्राइकर – रश्मी कुमारी घिसिङ, रेखा पौडेल, एलिसा जाम्बा, सम्झाना शर्मा

मुख्य प्रशिक्षक – हरि ओम श्रेष्ठ

सहायक प्रशिक्षक – प्रकास बैद्य

गोलकिपर प्रशिक्षक – अस्मिता खवास




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *