एएफसी महिला च्याम्पियनसिप छनोट : थाइल्याण्डसँग जित्ने नेपालको लक्ष्य

डिसी नेपाल
६ कार्तिक २०७५ ९:४४

काठमाडौं । एएफसी यू-१९ महिला च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपालले बुधबार आयोजक राष्ट्र थाइल्याण्डसंग खेल्दैछ ।

बलियो र घरेलु टोली थाइल्याण्डविरुद्ध नेपालले चोनबुरी स्टेडियममा प्रतिस्पर्धा गर्नेछ । थाइल्याण्ड नेपाली यू-१९ टोलीका लागि नौलो प्रतिद्वन्द्वी समेत हो ।

थाइल्याण्डलाई यस समूहको उपाधि दाबेदार टिम मानिएको छ । तर, दोस्रो चरणमा पुग्ने लक्ष्य लिएको नेपालले पहिलो खेलमा थाइल्याण्डविरुद्ध कडा चुनौती दिने तयारी गरेको छ ।

थाइल्याण्डविरुद्ध नेपाल सके जित नत्र बराबरी खेल्ने योजनामा हुनेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले नेपालको दोस्रो चरण पुग्ने सम्भावना बलियो रहेको बताउदै थाइल्याण्डविरुद्ध अंक खोस्ने बताए ।

‘पहिलो खेल सधै कठिन हुन्छ । त्यसमाथि थाइल्याण्ड निकै बलियो टोली हो तर हामी बराबरीको लागि खेल्नेछौं,’ प्रि म्याच कन्फरेन्समा प्रशिक्षक श्रेष्ठले भने ।

प्रशिक्षक श्रेष्ठले थाइल्याण्डको खेल आफुले बिश्लेषण गरिसकेको बताउदै उनीहरुको फरवार्डलाई रोक्न रणनीति तयार गरेको बताए । प्रशिक्षक श्रेष्ठले थाइल्याण्डविरुद्ध नेपालले स्ट्राइकर रेखा पौडेललाई मुख्य हतियार बनाउने बताए । उनले खेलाडीमा इन्जुरीको समस्या नरहेको समेत बताए ।

‘युट्युबबाट मैले थाइल्याण्डको खेल हेरेको थिए । उनीहरुको विंगर र फरवार्ड निकै राम्रा छन् ।’, प्रशिक्षक श्रेष्ठले भने, ‘मैले उनीहरुलाई रोक्ने रणनीति तयार गरेको छु । हाम्रो टिम सन्तुलित छ । मलाई लाग्छ भोली थाइल्याण्डलाई पनि कठिन हुनेछ ।’

प्रशिक्षक श्रेष्ठले थाइल्याण्ड आयोजकको रुपमा दोस्रो चरणको लागि छनोट भए नेपाल छनोटको उपविजेता बन्दै अर्को चरणमा पुग्ने सम्भावना बलियो रहेको बताए । तर, प्रशिक्षक श्रेष्ठले भारतविरुद्धको खेल समेत कठिन हुने बताए ।

छनोटको समूह ‘बि’ मा रहेको नेपालले थाइल्याण्डपछि भारत र पाकिस्तानसंग खेल्नेछ । नेपालले दोस्रो खेलमा भारतसंग अक्टोबर २६ र अन्तिम खेल पाकिस्तानसंग २८ अक्टोबरमा खेल्नेछ । छनोटको समूह विजेता टोलीले दोस्रो चरणको छनोटमा स्थान बनाउनेछन् ।

नेपाली टोलीमा भुटानमा सम्पन्न महिला यू १८ साफ च्याम्पियनसिप खेलेका खेलाडीको बाहुल्यता छ । यस्तै नेपाली टोलीमा तीन खेलाडी राष्ट्रिय टोलीका सदस्य छन् ।

प्रशिक्षण श्रेष्ठले गोलकिपर अन्जना राना मगर, कप्तान सरु लिम्बु र मिडफिल्डर मन्जली योन्जन टिममा रहनु टिमका लागि सबल पक्ष रहेको बताए । तीनै खेलाडी राष्ट्रिय टोलीमा समेत रहेका छन् ।
कप्तान सरु लिम्बुले थाइल्याण्डविरुद्ध जित्ने लक्ष्यसहित मैदान उत्रने बताईन ।

‘थाइल्याण्ड कठिन टिम हो तर हामी जितका लागि खेल्नेछौं,’ कप्तान सरुले भनिन्, ‘कठिन टोलीविरुद्ध सतर्क भएर खेल्नेछौ । प्रशिक्षकको रणनीति अनुसार खेल्ने छौ । मलाई विश्वास छ हामी जित्ने छौं ।

यस्तै थाइल्याण्डका प्रशिक्षक अरुण तुल्वात्तानान्घुलले प्रतियोगिताका लागि राम्रो तयारी गरेको बताउदै च्याम्पियन बन्ने लक्ष्यसहित पहिलो खेलमा मैदान उत्रने बताए ।

थाइल्याण्डसंग पनि ३ राष्ट्रिय खेलाडी रहेको बताउदै प्रशिक्षक अरुणले भने, ‘तयारीका लागि हामीले चीनमा मैत्रीपूर्ण खेल खेलेका थियौ । मलाई लाग्छ नेपाल र हाम्रो स्तर उस्तै हो । तर, हामी तीनै खेल जित्नको लागि खेल्छौ ।’

नेपाली टोली :

गोलकिपर – अन्जना राना मगर, उषा नाथ, कविता राई

डिफेन्डर – निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समिक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फरसवान, पुजा राना मगर

मिडफिल्डर – सरु लिम्बु, मन्जली कुमारी योन्जन, शुभद्रा खड्का, अस्मिता बैद्य, मनिषा राउत,सुहानी कुसुवार, सृजना सिंह ठकुरी, सम्झना लावती

स्ट्राइकर – रश्मी कुमारी घिसिङ, रेखा पौडेल, एलिसा जाम्बा, सम्झाना शर्मा

मुख्य प्रशिक्षक – हरि ओम श्रेष्ठ

सहायक प्रशिक्षक – प्रकास बैद्य

गोलकिपर प्रशिक्षक – अस्मिता खवास




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *