च्याम्पियन्स लिग फुटबल : मेस्सी बिना मैदान उत्रदै बार्सिलोना

डिसी नेपाल
७ कार्तिक २०७५ १३:०१

एजेन्सी । युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत आज (बुधबार) विभिन्न समूहको ८ खेलहरु हुँदैछ। च्याम्पियन्स लिग अन्तर्गत बुधबार समूह ‘ए’ देखी ‘डी’ का दुई दुई खेल हुनेछ।

च्याम्पियन्स लिग अन्तर्गत बुधबार स्पेनिस क्लब बार्सिलोना, इंग्लिश क्लब लिभरपुल र फ्रान्सको पेरीस सेन्ट जर्मेन (पिएसजी) लगायतका क्लबहरुले प्रतिस्पर्धा गर्दैछन् ।

समूह ‘बि’ मा रहेको बार्सिलोनाले इटालियन क्लब इन्टर मिलानसंग खेल्दैछ । बार्सिलोनाको घरेलु मैदान क्याप नाउमा हुने खेल राति १२ः१५ बाट सुरु हुनेछ ।

इन्टरविरुद्ध मैदान उत्रदा बार्सिलोना आफ्ना स्ट्रार स्ट्राइकर लियोनल मेस्सी बिना मैदान उत्रने छ । मेस्सी ला लिगा अन्तर्गत सेभियाविरुद्धको खेलमा घाइते हुँदै ३ साता मैदान बाहिर रहेका छन् ।

यस समूहमा ६ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ । इन्टर पनि ६ अंक जोडेर दोस्रो स्थानमा छ । त्यसैले दुवै टोली तेस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ ।

दुई टोलीबीच हालसम्म १९ खेल खेलेका छन् । जसमा बार्सिलोनाले ८ खेलमा जित र ५ खेलमा हार ब्यहोर्नु परेको छ भने ६ खेलमा बराबरी भएको छ ।

यसै समूहको अर्को खेलमा टोटेनहम र पीएसभीले प्रतिस्पर्धा गर्नेछन् । दुई टोलीबीचको खेल १०:४० मा सुरु हुनेछ ।

समूह ‘सी’ मा रहेको लिभरपुलले घरेलु मैदानमा रेड स्टार बेलग्रेडसंग खेल्नेछ । लिभरपुल र बेलग्रेडबीचको खेल राति १२:४५ मा सुरु हुनेछ ।

यससमूहमा लिभरपुल ३ अंक जोडेर दोस्रो स्थानमा छ । बेलग्रेड १ अंक जोडेर पुछारमा छ ।

यसै समूहको अर्को खेलमा इटालियन क्लब नेपोली र पिएसजीबीच राति १२:४५ बजे नै प्रतिस्पर्धा हुनेछ । यस समूहमा ४ अंक जोडेको नेपोली शीर्ष स्थानमा रहदा ३ अंक जोडेको पिएसजी तेस्रो स्थानमा छ ।

समूह ‘ए’ अन्तर्गत क्लब बर्ग र मोनाकोले राति १०:४० मा प्रतिस्पर्धा गर्नेछन् । यस्तै जर्मन क्लब बोरुसिया डर्टमण्डले घरेलु मैदानमा स्पेनिस क्लब एट्लेटिको मड्रिडसंग खेल्नेछ । खेल राति १२:४५ मा सुरु हुनेछ ।

समूह ‘डी’ अन्तर्गत गालातासारेले शाल्केसंग र लोकमोटिभ मस्कोले पोर्टोसंग खेल्नेछ । दुवै खेल राति १२:४५ मा सुरु हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *