आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलाडी छनौट हुँदै

डिसी नेपाल
१० कार्तिक २०७५ २:०१

चितवन । आगामी माघमा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलाडी छनौटको प्रकृया सुरु गरिएको छ।

माघको २७ देखि फागुन ३ गतेसम्म प्रदेश नम्बर ५ को नेपालगञ्जलगायत विभिन्न स्थानमा हुने प्रतियोगिताका लागि चितवनमा खेलाडी छनौटको प्रकृया सुरु भएको हो। प्रतियोगिताको लागि खेलाडी छनौट गर्न भन्दै विभिन्न विधाको खेलकुदका लागि आगामी कात्तिक १६ गतेसम्म खेलाडीलाई फारम भर्न आग्रह गरिएको छ।

चितवन जिल्ला खेलकुद विकास समिति भरतपुरका कार्यालय प्रमुख रामजी ढकालका अनुसार चितवनबाट प्रतियोगितामा भाग लिन जाने खेलाडीको नाम दर्ता भइरहेको छ। जिल्लाबाट प्रदेशमा पठाइने र प्रदेशबाट राष्ट्रिय खेलकुदका लागि खेलाडी पठाउने काम अगाडि बढाइएको ढकालले बताए।

जिल्लाबाट विजेता भएका खेलाडीले प्रदेशमा समेत उत्कृष्ट प्रदर्शनी गरेपछि मात्रै राष्ट्रिय खेलमा सहभागी हुने भएकाले आगामी मंसिर १४ देखि २१ गतेसम्म विभिन्न खेलको जिल्लास्तरीय छनौट हुने ढकालले बताए।

राष्ट्रिय खेलकुदका लागि चितवनबाट एथलेटिक्सका १६ विधा, फुटबल, भलिबल, बक्सिङ, उसु, कराते, तेकवान्दो, भारत्तोलन, टेबुलटेनिस, क्रिकेट, कबड्डी, बास्केटबल, ब्याडमिन्टन, ह्याण्डबल, सेपाताक्रो, साइकिलिङ, पौडी, बुद्धिचाल, शारीरिक सुगठन जस्ता खेलमा प्रतिस्पर्धा गर्न खेलाडी छनौट गरिने चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गंगालाल लामाले बताए।

अधिकांश खेलमा जिल्ला स्तरबाट छनौट गरेर प्रदेशमा पठाइने भएपनि पौडी, साइकिलिङ, शारीरिक सुगठन, बुद्धिचाल जस्ता केही खेलमा सिधै राष्ट्रिय खेलमा खेलाडीलाई पठाइने लामाले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *