सरकारले संसदमा दर्ता गराएका तीन वटा विधेयक पारित गर्न नदिने कांग्रेसको चेतावनी

डिसी नेपाल
१२ जेठ २०७६ ६:५५

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधानको प्रावधानलाई कुल्चिने गरी सरकारले ल्याएको कुनै पनि विधेयक संसदबाट अघि बढाउन नदिने चेतावनी दिएका छन्।

प्रमुख सचेतक खाँणले सरकारले संसदमा पेश गरेको प्रेस स्वतन्त्रता, मानव अधिकार र राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील विषयको प्रतिकूल हुने गरी आएका विधेयक संसदबाट फिर्ता नभए सडक आन्दोलनमा जान आफ्नो पार्टी बाध्य हुने चेतावनी दिए।

पार्टीको राष्ट्रिय जागरण अभियान अन्तरगत आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानको रक्षा गर्न नेपाली काँग्रेसलाई प्रधानमन्त्री केपी ओली आफैले सडकमा जान बाध्य बनाएको दावी गरे। प्रमुख सचेतक खाँणले प्रधानमन्त्री ओलीले संसद र जनप्रतिनिधिहरुको अपहेलना गरिरहेको उल्लेख गर्दै त्यसका विरुद्ध आफ्नो पार्टी दृढतापूर्वक उभिन लागेको बताए।

प्रमुख सचेतक खाँणले दुई तिहाई बहुमत प्राप्त प्रधानमन्त्री ओली विनम्र हुनु पर्नेमा संसद र जनप्रतिनिधिहरुप्रति अनुदार हुँदै गएकाले विरोध गर्नु परेको जिकिर गरे। प्रधानमन्त्री ओलीले बाईडबडी विमान खरिद प्रकरणमा आफ्ना मन्त्रीको संलग्नता नरहेको दावी गरेर भ्रष्टाचारलाई प्र्रश्रय दिएको प्रमुख सचेतक खाँणको आरोप छ।

कांग्रेसले सरकारले संसदमा पेश गरेका तीनवटै विधेयक परिमार्जन गनुपर्ने नत्र संसद अवरुद्ध पार्ने चेतावनी दिँदै आएको छ। सरकारले संसदमा पेश गरेको मिडियो काउन्सिल, राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय सुरक्षासँग सम्बन्धित विधेयकप्रति कांग्रेसले कडा आपत्ति जनाउँदै आएको छ।

७७ वटै जिल्लामा राष्ट्रिय जागरण अभियान संचालन गरिरहेको कांग्रेस सरकार विरुद्ध आक्रमक बन्दै गएको छ। सरकारले एकपछि अर्को गर्दै संविधान विपरित काम गरेको आरोप लगाउँदै कांग्रेसले सदन सडकबाट सरकारलाई दवाब दिने नीति अख्तियार गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *