मुक्तिनाथबाट राप्रपाको दोस्रो स्वाभिमान यात्रा, हिन्दु राष्ट्र बनाएरै छाड्ने उद्घोष

डिसी नेपाल
२४ जेठ २०७६ १०:१९

मुस्ताङ । राष्ट्रिय प्रजातन्त्र पार्टीको दोस्रो चरणको स्वाभिमान यात्रा शुक्रबार मुक्तिनाथबाट सुरु भएको छ । मुक्तिनाथ मन्दिरमा धार्मिक अनुष्ठान गरि दोस्रो यात्राको शुभारम्भ गरिएको हो ।

अनुष्ठानमा पार्टी अध्यक्ष कमल थापा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, नेताहरु भिम प्रसाद गौचन, तोरण गुरुङ, हेमजङ्ग गुरुङ, सुशील कुमार श्रेष्ठ, भुवन पाठक लगायतका नेताहरुको सहभागी थियो ।

धार्मिक अनुष्ठान पछि रानिपौवामा आयोजित सभालाई अध्यक्ष थापाले सम्बोधन गरेका थिए । शुक्रबार नै सदरमुकाम जोमसोममा आयोजित सभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष कमल थापाले हिन्दुत्व नेपाल र नेपाली जनताको गौरवशाली पहिचान भएको भन्दै सर्ब धर्म समभाव सहितको हिन्दुराष्ट्र आवश्यक भएको बताए । उनले सनातन धर्म भनेको हिन्दु धर्म मात्र नभएको भन्दै हिन्दु, बौद्ध र किरात धर्मलाई कमजोर बनाउने षडयन्त्रको भण्डाफोर गर्नुपर्ने बताए ।

सनातन धर्म विस्थापित गर्ने कार्यलाई मुकदर्शक भएर टुलुटुलु हेरिरहन नसकिने उनले स्पष्ट पारे । बेनी–जोमसोम–कोरला मार्ग निर्माण गर्न समेत सो अवसरमा थापाले सरकारको ध्यानाकर्षण गरए ।

सभालाई सम्बोधन गर्दै बालसन्त मोहनशरण देवाचार्यले धर्म निरपेक्षले धर्म, आचारण, मर्यादा र अनुशासनबाट च्युत गराएको भन्दै धर्म निरपेक्षता मुलुकको लागि हितकर नभएको दावी गरे । सबैको अभिभावकीय भूमिका खेल्नको निमित्त र ओमकार परिवारको रक्षाको लागि हिन्दुराष्ट्र अत्यावश्यक भएकोले यो अभियानमा सबैको साथ र सहयोगको उनले अपेक्षा गरेका थिए ।

कार्यक्रममा बोल्दै राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले देशको राष्ट्रियता, धर्म सस्कृती र पहिचान माथी चौतर्फी हमला भईरहेको भन्दै त्यसको जगेर्नाको निमित्त जनता जागरुक हुनुपर्नेमा जोड दिए ।

मुक्तिनाथबाट शुरु भएको यात्रा म्याग्दी, बागलुङ, पर्वत, कास्की, लमजुङ हुँदै जेष्ठ २७ गते गोरखा पुगेर समापन गरिने राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *