अझै बाँकी छ नेपालको विश्वकप पुग्ने सम्भावना, यसरी पुग्न सक्छ अस्ट्रेलिया

डिसी नेपाल
१६ साउन २०७६ १५:४२

काठमाडौं। गत आइतबार भएको आइसीसी विश्वकप छनोटको एसिया फाइनलको अन्तिम खेलमा सिंगापुरसँग पराजित भएपछि नेपाल विश्वकपको ग्लोबल छनोट खेल्नबाट बञ्चित भएको छ । यससँगै नेपाली खेलाडी र फ्यानहरु निराश भएका छन् ।

यद्यपि यो पराजयपछि पनि नेपालको विश्वकप पुग्ने झिनो सम्भावना भने बाँकी छ । नेपालले विश्वकप पुग्न अझै एक अवसर पाउँछ वा पाउँदैन भन्ने आइसीसीको निर्णयमा भर पर्नेछ । आइसीसीले गर्ने निर्णयले नेपालले अझै एकपटक अवसर पाउन सक्ने सम्भावना पनि छ ।

आइसीसी विश्वकपको ग्लोबल छनोट आगामी अक्टोबर ११ देखि युएइमा हुँदैछ । यो प्रतियोगितामा १४ टिमले प्रतिस्पर्धा गर्ने तय गरिएको छ । यहाँ खेल्ने १४ टिममध्ये अघिल्लो विश्वकप खेलेका र आइसीसीको बरियतामा ११ देखि १६ औं स्थानसम्म रहेका ६ टोली सोझै छनोट भएका थिए । आइसीसीको बरियतामा शीर्ष १० टोली भने सोझै विश्वकपका लागि छनोट भइसकेका छन् ।

बरियतामा अगाडि रहेर ग्लोबल छनोटमा पुगेका ६ टिमहरु स्कटल्याण्ड, जिम्बाब्बे, नेदरल्याण्ड, हङकङ, ओमान र आयरल्याण्ड छन् । यी ६ टिमसँगै पूर्वी एशिया प्यासिफिकको विजेता पपुआ न्यूगिनी, अफ्रिकाका विजेता र उपविजेता केन्या र नामिबिया, युरोपको विजेता जर्सी र एसियाको विजेता सिंगापुर पनि ग्लोबल क्वालिफायरको लागि छनोट भएका छन् । युएइ आयोजकको हैसियतमा ग्लोबल क्वालिफायर पुगेको छ । अमेरिका फाइनल हुन बाँकी छ र त्यहाँबाट एक टोली थपिएर १४ टोली पुग्नेछन् ।

ग्लोबल क्वालिफायरमा १४ टोली पुगे पनि एउटा टोलीले खेल्न पाउने सम्भावना अत्यन्तै न्यून छ । जिम्बाब्बेलाई आइसीसीले प्रतिबन्ध लगाएको छ र प्रतिबन्ध फुकुवा नहुँदासम्म उसले आइसीसीका कुनै प्रतियोगितामा भाग लिन पाउने छैन । जिम्बाब्बेले विश्वकप छनोट खेल्न पाउने वातावरण बनाउन प्रयास गरिरहेको छ तर यति छिटै त्यो प्रतिबन्ध फुकुवा हुने सम्भावना न्यून छ । यदि आइसीसीले विश्वकप छनोट सुरु हुँदासम्म जिम्बाब्बेको प्रतिबन्ध फुकुवा नगरे विश्वकप छनोट खेल्ने टोली १३ मात्र हुनेछन् ।

ग्लोबल छनोटमा १३ टोली हुने अवस्थामा आइसीसीले थप एक टोलीलाई १४ औं टोलीको रुपमा अवसर दिन सक्छ । यसको लागि आइसीसीले २ विकल्पमध्ये कुनै एक विकल्प रोज्न सक्छ । आइसीसीको लागि पहिलो विकल्प हो क्षेत्रीय छनोटको उपविजेतालाई अवसर दिने । तर, यो प्रक्रिया झन्झटिलो हुनेछ । किनकि क्षेत्रीय छनोट ५ क्षेत्रमा भएको छ र ५ उपविजेता छन् । यीमध्ये एक टिम छान्न यी ५ टोलीबीच पुनः प्रतिस्पर्धा गराएर विजेता छान्नुपर्ने हुन्छ जुन झन्झटिलो हुनेछ ।

दोस्रो विकल्प हो आइसीसीको बरियतामा माथि रहेको टोलीलाई अवसर दिने । यस्तोमा सबैभन्दा माथि रहेको टोली नेपाल हुनेछ । आइसीसीको अहिलेको बरियताअनुसार शीर्ष १० स्थानमा रहेका सबै टोली सोझै विश्वकपमा छनोट भइसकेका छन् । ११ औं स्थानमा नेपाल छ । विश्वकपको ग्लोबल छनोट खेल्ने सबै टोली आइसीसीको बरियतामा नेपालभन्दा पछाडि छन् । यदि आइसीसीले बरियतामा माथि रहेको टोली छनोट गरेमा नेपालले विश्वकपको ग्लोबल छनोट खेल्न पाउनेछ । तर, यो सम्भावना आइसीसीको निर्णयमा निर्भर छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *