काँग्रेसमा तोकिएन महाधिवेशनको कार्यतालिका

डिसी नेपाल
१७ साउन २०७६ २१:१०

काठमाडौं। नेपाली काँग्रेसको जारी केन्द्रीय समिति बैठकले पार्टीको आगामी महाधिवेशन (१४ औं)बारे कार्यतालिका नबनाउने भएको छ । पहिला क्रियाशील सदस्यताबारे टुंगो लगाएपछिमात्र महाधिवेशनको कार्यतालिका बनाउने निर्णय काँग्रेसले गरेको हो।

शुक्रबार बसेको बैठकले ‘अन्तरिम संरचना गठन तथा १३ औं महाधिवेशन अघि केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा गठित क्रियाशील सदस्यता छानविन समितिले निर्णय गरे बमोजिमको क्रियाशील सदस्य अभिलेख अद्यावधिक गर्ने कार्य २०७६ मंसिर मसान्तभित्र सम्पन्न गरिनेछ ।

त्यस पश्चात बस्ने केन्द्रीय कार्यसमितिको बैठकले १४ औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउनेछ’ भन्ने निर्णय गरेको छ।

यो निर्णयसँगै अन्तरिम संरचना र क्रियाशील सदस्यता नटुंग्याइ महाधिवेशनको मिति नतोकिने निश्चित भएको हो। बैठकले पार्टीको अन्तरिम संरचना पार्टीको विधानको धारा ७२ बमोजिम गठन हुने भनेको छ ।

विधानको धारा ७२ को उपधारा ४ मा पार्टीको अन्तरिम संगठनबारे व्यवस्था गरिएको छ :

(क) नेपालको संविधान बमोजिम स्थानीय तह तथा संसदीय निर्वाचन क्षेत्र निर्धारण भए पश्चात सिमांकन हेरफेर नभई यथावत् कायम रहेका गाउँपालिका÷ नगरपालिका/उपमहानगरपालिका/महानगरपालिकाका र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कायम रहेको कार्यसमिति यथावत्कायम रहनेछन्।

(ख) नेपालको संविधान बमोजिम स्थानीय तह तथा संसदीय निर्वाचन क्षेत्र निर्धारण भए पश्चात सिमाङ्कन हेरफेर भई नयाँ कायम भएका गाउँपालिका/ नगरपालिका/उपमहानगरपालिका/महानगरपालिकाका र प्रतिनिधि सभा निर्वाचन क्षेत्रभित्रका यो विधान संशोधन पूर्व कायम रहेका प्रतिनिधिको अधिवेशनले यसै विधान बमोजिमको सम्बन्धित कार्यसमिति गठन गर्नेछ ।

(ग) नेपालको संविधान बमोजिम नयाँ निर्धारण भएका प्रदेश सभा सदस्य निर्वाचन क्षेत्रभित्रका यो विधान संशोधन पूर्व कायम रहेका क्षेत्रीय अधिवेशन प्रतिनिधि प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशनका प्रतिनिधि हुनेछन् । यसरी कायम हुन आएका प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशनले यो विधान बमोजिमको प्रदेश सभा निर्वाचन क्षेत्रीय कार्यसमिति गठन गर्नेछ ।

(घ) प्रदेशभित्रका यो विधान संशोधन पूर्व कायम रहेका केन्द्रीय महाधिवेशन प्रतिनिधि प्रदेश अधिवेशन प्रतिनिधि हुनेछन् । यसरी कायम हुन आएको प्रदेश अधिवेशनले यो विधान बमोजिमको प्रदेश कार्यसमिति गठन गर्नेछ ।

(ङ) गाउँपालिका/नगरपालिका वडा कार्यसमिति गठन भएको बढीमा दुई महिनाभित्र वडा कार्यसमितिले मातहतका टोल कार्यसमिति गठन गर्नेछ ।

शुक्रबारको बैठकमा नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु— बालकृष्ण खाँण, रमेश रिजाल, डा. मिनेन्द्र रिजाल, फरमुल्लाह मंसुर, एन.पी. साउद, शंकर भण्डारी, मीन विश्वकर्मा र बीरबहादुर बलायरले आ–आफ्नो विचार व्यक्त गरेका थिए ।

शुक्रबार पार्टी उपसभापति विमलेन्द्र निधिले नेपाल लोकतान्त्रिक फोरमसँगको समायोजन र आफ्नै नेतृत्वमा रहेको नीति तथा प्रशिक्षण प्रष्ठिानको प्रतिवेदन पनि प्रस्तुत गरेका थिए । यस्तै महामन्त्री पूर्णबहादुर खड्काले “हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान” को बैशाख २५ देखि जेठ २५ सम्म सम्पन्न प्रथम चरणको प्रतिवेदन प्रस्तुत गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *