संसदीय समितिमै भावुक बने पर्यटनमन्त्री भट्टराई

डिसी नेपाल
१९ साउन २०७६ १८:२६

कामाठाडौं। संस्कृति नागरिक उड्डयन तथा पर्यटनमन्त्रीमा नियुक्त भएपछि योगेश भट्टराई आइतबार पहिलो पटक संसदीय समितिमा उपस्थित भए। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोलाइएका नवनियुक्त मन्त्री भट्टराईलाई समितिका सदस्यहरुले बधाई दिँदा मन्त्री भट्टराई भने भावुक भने।

उनी विद्यार्थी राजनीति गर्दा २०४३ सालमा गम्भीर विरामी भएका थिए। त्यति बेला डाक्टरहरुले आश मारिसकेका थिए। तर, भट्टराई बाँचे पहिलो पटक मन्त्री बने। यही कुरा सम्झेर उनी संसदीय समितिमा भावुक बनेका हुन्। उनले बैठकमा सो कुरा स्मरण गर्दै विरामी पर्दा ६० दिनसम्म त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा बसेको र त्यति बेला नेता माधव कुमार नेपालले भेटेको बताए। यति भन्दै गर्दा उनी भावुक बनेका थिए। भट्टराई भावुक बनेपछि समितिका सदस्यसमेत रहेका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पनि भावुक बने।

बैठकको माहोल एक सयम भावुक बन्यो। तर, सम्हालिँदै मन्त्री भट्टराईले समितिमा आफ्नो कुरा राख्न शुरु गरे। उनले केही दिन भित्रै आफ्नो मन्त्रालयको कार्ययोजना सार्वजनिक गर्ने घोषणा गरे।

मन्त्री भट्टराईले संसद र संसदीय समितिले दिएका निर्देशन पूर्ण पालना गरेर अघि बढने प्रतिवद्धता पनि व्यक्त गरे। विमान खरिद सम्बन्धमा संसदीय समितिले विगतमा दिएका निर्देशनहरु पालना गरेर अघि बढने योजना पनि सार्वजनिक गरे । उनले आफ्ना सबै कामकार्वाही पारदर्शी ढंगले अघि बढाउने अठोट पनि गरे। उनले आफ्नो मन्त्रालयमा राजनीतिक आस्थाका आधारमा कसैप्रति पूर्वाग्रह राख्ने अवस्था आउन नदिने प्रतिवद्धतासमेत गरे।

बैठकमा समितिका सदस्यहरुले विमान खरिद प्र्रकरणमा देखिएका सबै समस्या समाधान गरेर अघि बढन मन्त्री भट्टराईलाई सुझाव दिएका थिए । समितिका सदस्य एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विमान खरिद प्रकरणमा देखिएका समस्या समाधान गर्दै आगामी दिनमा त्यस्ता समस्या आउन नदिने गरी काम गर्न मन्त्री भट्टराईलाई सुझाव दिए। उनले जनताको भावनामा चोट नपु¥याउने गरी सांस्कृतिक क्षेत्रको विकासमा लाग्नुपर्ने आवश्यक्ता पनि औंल्याए।

समितिका अर्का सदस्य अग्नीप्रसाद सापकोटाले नेपाल एयरलाइन्सलाई सरकार आफैले संचालन गरेर नेपालको हवाई उडड्यनको क्षेत्रलाई व्यवस्थित बनाउन मन्त्री भट्टराईलाई आग्रह गरे।

समितिकै सदस्य पुष्पा भुसालले हवाई उडड्यनको क्षेत्रलाई व्यवस्थित बनाएर मुलुकको पर्यटन क्षेत्रको विकासका लागि दीर्घकालीन योजना बनाउन मन्त्री भट्टराई सफलता मिल्ने विश्वास व्यक्त गरिन्।

समितिका सदस्यहरुले मन्त्री भट्टराईले पर्यटन क्षेत्रको विकासका लागि निर्माणाधिन विमानस्थलको निर्माणको कामलाई पनि समयमै पूरा गर्ने विश्वास पनि व्यक्त गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *