ललितपुर महानगरपालिकाले ल्यायो ‘बीउ एटियम’ सञ्चालनमा

डिसी नेपाल
२६ साउन २०७६ २१:४६

ललितपुर । ललितपुर महानगरपालिकाले ‘बीउ एटियम’ पनि सञ्चालनमा ल्याएको छ।

ललितपुर महानगरपालिकाले सहरी खेती साझेदारी कार्यक्रम अन्तरगत कृषकहरुलाई उन्नतस्तरको बीउ एटियममार्फत् उपलब्ध गराउने गरी सो एटिएम संचालनमा ल्याएको हो।

आईतबार ललितपुरमा एक कार्यक्रममा बीच कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीको उपस्थितिमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सो प्रविधिको पनि उद्घाटन गरेका हुन्।

उनले सहरी कृषकहरुको उत्पादनमा बढावा दिने उद्देश्यका साथ उन्नत विउ विजन वितरणका लागि बीउ एटियमको पनि व्यवस्था गरिएको स्पष्ट पारे।

त्यसमा ३६ जातका तरकारी तथा फलफूलको उन्नत विउ पाउने व्यवस्था पनि गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ। २०, ५० र १०० मूल्यका सफा नोट एटियममा घुसाएपछि उनीहरुले चाहे अनुसारको बीउको चित्र आउने र सोही चित्रमा थिचेपछि आवश्यक बीउ प्राप्त गर्ने व्यवस्था सो एटियममा गरिएको छ।

ललितपुर महानगरपालिकाले ‘पानी एटियम’ पनि संचालन गरिसकेको छ। मेयर महर्जनले सहरी क्षेत्रको उचित व्यवस्थापनका लागि ‘साईकल लेन’को व्यवस्था गर्ने कामलाई पनि अघि बढाइएको जानकारी दिए।

कार्यक्रममा बोल्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव जिसीले प्रदेश र स्थानीय सरकारसँग मिलेर कृषि उत्पादनमा बढावा दिन नयाँ–नयाँ प्रविधिको विकास गर्न सरकार तयार रहेको बताए।

उनले कृषिमा निर्भर मुलुकलाई अघि बढाउन कृषि क्षेत्रको विकासमा तीन वटै तहबीच मिलेर काम गर्नुपर्नेमा पनि जोड दिए। ललितपुर महानगरपालिकाले नौं लाख लगानीमा स्थापना गरेको सो मेशिनको सेवा सबै वडामा संचालनमा ल्याउने तयारी पनि गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *