पार्टीलाई जानकारी नदिई सांसद यादवले सभामुखलाई बुझाए राजीनामा

डिसी नेपाल
२८ साउन २०७६ १४:२५

काठमाडौं। तत्काली संघीय समाजवादी फोरमबाट सप्तरी निर्वाचन क्षेत्र नम्बर दुई बाट निर्वाचित सांसद डा. सूर्यनारायण यादवले राजीनामा दिएका छन्। आफ्नो स्वास्थ्यका कारण देखाउँदै सांसद यादवले राजीनामा सभामुख कृष्णबहादुर महरालाई बुझाएको तर राजीनामा स्वीकृत भइनसकेको सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिए।

समाजवादी पार्टीसमेत सांसद यादवलाई राजीनामा फिर्ता लिन आग्रह गरेको छ।  समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकार अरगरियाले सांसद यादवले स्वास्थ्यका कारण देखाउँदै राजीनामा दिएपनि पार्टीले राजीनामा फिर्ता लिन आग्रह गरेको बताए।

‘उहाँले स्वास्थ्यको कारण देखाउँदै सभामुखलाई राजीनामा बुझाउनु भएको रहेछ,’ प्रमुख सचेतक अरगरियाले डिसी नेपालसँग भने, ‘हामीले उहाँलाई राजीनामा फिर्ता लिन आग्रह गरेका छौं। सभामुखज्यूलाई पनि तत्काल राजीनामा स्वीकृत नगर्न आग्रह गरेका छौं।’ सांसद यादवले सोमबार सभामुख समक्ष राजीनामा बुझाएका थिए।

उनले पार्टीमा छलफल नगरी राजीनामा बुझाएको भन्दै समाजवादी पार्टीले असन्तुष्टि जनाएको छ। ‘उहाँले राजीनामा बुझाएको विषय संचारमाध्यममार्फत जानकारी पाइयो,’ प्रमुख सचेतक अरगरियाले भने, ‘पहिला पार्टीमा जानकारी गराएर राजीनामा बुझाउँदा राम्रो हुन्थ्यो।’

समाजवादी पार्टीले सभामुखलाई तत्काल राजीनामा स्वीकृत नगर्न आग्रह गरेको छ। स्वास्थ्य रिपोर्ट आएपछि मात्र राजीनामाका विषयमा के गर्ने भन्ने विषयमा छलफल हुने अरगरियाले जनाए।

मृगौला र मधुमेहसम्बन्धी रोगबाट पीडित सांसद यादव बेला बेलामा बेहोस हुने गरेकाले स्वास्थ्यका कारण राजीनामा दिए पनि पार्टीले फिर्ता नलिन आग्रह गरिरहेको अरगरियाले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *