सर्वाधिक खोजी गरिएकी किशोरीको शंकास्पद शव फेला

डिसी नेपाल
२८ साउन २०७६ १६:१८

मलेसिया। मलेसियाको जङ्गलमा दश दिनअघि बेपत्ता भएकी एक आइरिस किशोरीको शव फेला परेको स्थानीय प्रहरीले जनाएको छ। ती किशोरीको खोजीमा मलेसियाली सैनिक, प्रहरी र अरु खोजकर्ता संलग्न भएका थिए।

नोरा क्वोरिन नाम गरेकी १५ वर्षीया किशोरी गत अगष्ट ४ मा बेपत्ता भएकी थिइन्। उनी बेलायतबाट घुमघामका लागि मलेसिया आएकी थिइन्।

परिवारका सदस्यले उनी अपहरणमा परेको आशंका गरेका थिए, तर मलेसिया प्रहरीले बेपत्ता भएको भन्दै खोजी कार्य तिब्र बनाएको थियो।

राजधानी क्वालालम्पुरबाट निकै टाढाको डुसुन रिसोर्ट नजिकको घना जंगलमा बेपत्ता भएको आशंकामा नोराको खोजी गरिएको थियो। तीनसय ५० जनाभन्दा बढी व्यक्ति उनको खोजीमा परिचालन गरिएका थिए। खोजीका क्रममा हेलिकप्टर, ड्रोन, तालिमप्राप्त कुकुर र गोताखोर प्रयोग गरिएको थियो।

खोजीमा सघाउन बेलायत, आयरल्यान्ड र फ्रान्सका प्रहरीले पनि सहयोग गरेका थिए।

विदेशमा बेपत्ता हुने बेलायतीको खोजीमा सहयोग गर्ने लुसी ब्ल्याकम्यान ट्रस्टले एक किशोरीको शव जंगलमा फेला परेको जनाएको छ। तर त्यो शव नोराकै हो भनिहाल्ने अवस्था नरहेको ट्रस्टको भनाई छ। उक्त ट्रस्टले थप विवरण दिन अस्वीकार गरेको छ। ट्रस्टले फेला परेको शव परीक्षणका क्रममा रहेको जनाएको छ।

परिवारका सदस्यहरुले नोरालाई फेला पार्ने व्यक्तिलाई ११ हजार ९०० अमेरिकी डलर दिने घोषणा पनि गरेका छन्।

सानैदेखि मानसिक रुपमा स्वस्थ नरहेकी नोरा राम्रोसँग बोल्न र लेख्न सक्दिनन्।(रासस/एएफपी)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *