विश्वविद्यालयले बजेट कटाएको भन्दै ब्राजिलका ७२ शहरमा विरोध प्रदर्शन

डिसी नेपाल
२९ साउन २०७६ १२:०१

रियो डे जेनेरो । सरकारले विश्वविद्यालयको बजेट कटौती गरेको विरोधमा मङ्गलबार हजारौं ब्राजिलीले विरोध जनाएका छन्। देशका ७२ वटा शहरमा यस्तो विरोध प्रदर्शन गरिएको छ।

सरकारले विश्वविद्यालयको बजेटमा करिब ३० प्रतिशत कटौती गर्ने घोषणा गरेलगत्तै विद्यार्थी युनियन र अरु संघसंस्थाले संयुक्त रुपमा यो विरोध प्रदर्शन गरेका हुन् । सरकारले स्नातकोत्तर तहमा दिइआएको छात्रवृत्ति समेत रोकेको छ।

विशिष्ट वैज्ञानिक तथा मेडिकल अनुसन्धान गर्ने धेरैवटा सङ्घीय विश्वविद्यालयले नयाँ भर्ना नलिइने बताएका छन् । प्रदर्शनकारीहरुले विश्वविद्यालयका निम्ति ल्याउने घोषणा गरिएका नयाँ कार्यक्रमको पनि विरोध गरेका छन्।

विश्वविद्यालयहरुले सरकारले सार्वजनिक शिक्षामा लगानी गर्न अरुचि देखाएको र निजी क्षेत्रको लगानीलाई प्रोत्साहित गर्न खोजेको बताएका छन्।

ठूलो संख्याका सर्वसाधारणले सरकारले हालै ल्याएको सामाजिक सुरक्षा सुधारसम्बन्धी विधेयकको पनि विरोध गरेका छन् । उक्त विधेयकलाई संसदले स्वीकृत गरिसकेको छ भने ब्राजिलको माथिल्लो सदन सिनेटले अध्ययन गरिरहेको छ। उक्त विधेयकले कामदारले गरेको कामलाई बेवास्ता गर्दै हचुवाको भरमा अवकाशको न्यूनतम उमेर तोकेको विरोधकर्ताको भनाई छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *