कश्मीर पुगेर इमरान खानले भने, ‘भारत र पाकिस्तानबीच युद्ध हुन सक्छ’

डिसी नेपाल
२९ साउन २०७६ १७:१५

इस्लामावाद (एजेन्सी) । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधबार पाकिस्तान प्रशासित कश्मीरको भ्रमण गरेका छन् । पाकिस्तानी स्वतन्त्रता दिवसको अवसर पारेर पाकिस्तान प्रशासित कश्मीरको राजधानी मुज्जफरवाद पुगेका प्रधानमन्त्री खानले त्यहाँको विधानसभालाई सम्बोधन गरेका छन्।

विधानसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले भारतप्रति आक्रामक टिप्पणी गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार सम्बोधनका क्रममा उनले भारत प्रशासित कश्मीरको विशेषाधिकार खोसेको भारतले पाकिस्तान प्रशासित कश्मीरमा पनि ‘एक्शन’ गर्न सक्ने सूचना प्राप्त भएको बताएका छन् । उनले भनेका छन्, ‘भारत यँहि रोकिनेवाला छैन, उसले आजाद कश्मीरमा पनि एक्शन गर्ने सूचना प्राप्त भएको छ ।’ उनले भनेका छन्, ‘तर पाकिस्तानी सेना तयार छ, उनीहरुलाई जवाफा दिइने छ । भारतले जसरी पुलवामापछि बालाकोट गरेको थियो, त्यसै गरी आजाद कश्मीरमा गर्न सक्छ तर, उसलाई हामी पनि सोहीअनुरुप जवाफ दिने छौं ।’

उनले भारत र पाकिस्तानबीच युद्ध भए त्यसको जिम्मेवार सँयुक्त राष्ट्र संघ र संसार हुनेसमेत चेतावनी दिएका छन् । उनले कश्मीर मामिलामा भारतले एकतर्फी कदम चाल्दा पनि राष्ट्र संघले भारतलाई नरोकेकोमा असन्तुष्टि जनाएका हुन् । उनले विश्वका अन्य मुलुकले पनि पाकिस्तानी आवाज नसुनेको भन्दै भारत र पाकिस्तानबीच युद्ध भए त्यसको जिम्मेवार अन्तर्राष्ट्रिय समूदाय हुने चेतावनी दिएका हुन् ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतले उठाएको कदमलाई जुनसकै अन्तर्राष्ट्रिय मञ्चमा उठाइने बताएका छन् । उनले आवश्यक परे पाकिस्तान अन्तर्राष्ट्रिय अदालतमा पनि जाने बताए । उनले आगामी दिनमा बेलायतमा ठूलो र्यालीसमेत आयोजना गरिने बताए ।

प्रधानमन्त्री खानले काश्मिर भ्रमण पश्चात नयाँ नीति घोषणा गर्ने सम्भावना रहेको छ । भारत सरकारले भारत प्रशासित जम्मु काश्मिरको विशेष मान्यता खारेज गरेसँगै आणविक शक्तिसम्पन्न दुबै मुलुकबीच तनाबको स्थिति छ । पाकिस्तानले भारतको यस कदमका विरुद्ध अन्तर्राष्ट्रिय कुटनीतिक दबाब बढाउने निर्णय गरेको छ ।

पाकिस्तानले भारतीय कदमका सम्बन्धमा आपतकालीन बैठक डाक्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् समक्ष औपचारिक अनुरोध गरिसकेको छ । पाकिस्तानले भारतीय राजदूतलाई फिर्ता गरेको छ भने दुई देशीय व्यापार रोक्नुका साथै सीमा वारपार यातायात सेवा बन्द गरेको छ । विज्ञहरुका अनुसार पाकिस्तानका पछिल्ला निर्णयले भारतमाथि कुनै दबाब सिर्जना हुनेछैन ।

यसैसाताको शुरुमा पाकिस्तानी प्रधानमन्त्री खानले भारतको कदम विरुद्ध अन्तरराष्ट्रिय जगतले खुलेर समर्थन नगरेकामा आपत्ति जनाएका थिए । अगष्ट १९४७ मा बेलायतको शासनसत्ता पतन भएसँगै भारत र पाकिस्तानको उदय भएको थियो । दुई मुलुकको विभाजनका क्रममा भड्किएको हिंसामा परेर लाखौं मानिस मारिएका थिए ।




प्रतिक्रिया

One thought on “कश्मीर पुगेर इमरान खानले भने, ‘भारत र पाकिस्तानबीच युद्ध हुन सक्छ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *