कश्मीरी नेता दिल्लीबाट पक्राउ

डिसी नेपाल
२९ साउन २०७६ २१:०१

नयाँ दिल्ली (एजेन्सी) । निकै ख्यातिप्राप्त कर्मचारीबाट भारत नियन्त्रित कश्मीरका नेता बनेका शाह फैसललाई भारतको राजधानी दिल्लीबाट नियन्त्रणमा लिएर कश्मीर फिर्ता पठाइएको बताइएको छ।

भारतले कश्मीरलाई दिँदै आएको विशेष अधिकारको अन्त्य गर्ने विवादास्पद निर्णय गर्नुपूर्व नियन्त्रणमा नलिइएका केही नेताहरू मध्येमा उनी पनि पर्थे। उनी दिल्लीस्थित विमानस्थलबाट पक्राउ परेको बताइएको छ।

मङ्गलवार बीबीसीको ‘हार्ड टक’ कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री नरेन्द्र मोदीले ‘दिनदहाडै संविधानको हत्या गरिदिएको’ बताएका थिए।
भारत सरकारले भने संविधानको प्रावधान अनुरुप नै कदम चालेको बताउँदै आएको छ। समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार टर्की जानका लागि विमान चढ्न लागेका बेला उनलाई नियन्त्रणमा लिइएको थियो।

भारत नियन्त्रित कश्मीरमा उनलाई कहाँ राखिएको छ भन्ने स्पष्ट छैन। केही स्थानीय सञ्चार माध्यामहरुले भने उनलाई आफ्नै निवासमा नजरबन्द गरिएको बताएका छन्।

सन् २००९ मा भारतको सरकारी जागिरका लागि भएको परीक्षामा प्रथम हुने उनी पहिलो कश्मीरी थिए। उक्त परीक्षा निकै कठिन हुने बताइन्छ।

गत जनवरीमा उनले सरकारी सेवाबाट राजीनामा दिएर आफ्नै राजनीतिक दल गठन गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *