यूरोपको मङ्गलग्रह यात्रालाई झट्का, प्यारासुट परीक्षणमा दोस्रो पटक असफलता

डिसी नेपाल
२९ साउन २०७६ २३:३२

स्कटहोम (बीबीसी) । स्वीडेनमा भएको प्यारासुट परीक्षण असफल भएपछि युरोप र रुसको संयुक्त प्रयासमा मङ्गल ग्रहमा यान अवतरण गर्ने योजनाको मिति सर्न सक्ने देखिएको छ।

प्यारासुटसम्बन्धी परीक्षणमा यो दोस्रो असफलता हो र एक्जोमार्स परियोजनाले थप असफलता बेहोरेमा अबको एक वर्षमा हुने भनिएको मङ्गल ग्रह तर्फको अन्तरिक्ष अभियान सफल नहुन पनि सक्छ।

सन् २०२० को जुलाईका लागि निर्धारित अन्तरिक्ष अभियानका ‌ निम्ति अबको परीक्षण महत्वपूर्ण हुनेछ। यो योजना अन्तर्गत मङ्गल ग्रहको सतहमा एउटा रुसी प्लाटफर्म र एक युरोपेली वाहन अवतरण गराउने उद्देश्य राखिएको छ।

स्वीडेनको किरुनामा गरिएको परीक्षणमा ३५ मिटर व्यास भएको एउटा मुख्य प्यारासुटको जाँच गर्न २९ किलोमिटर माथिबाट मंगलग्रहमा उतारिने वाहनहरूको संयुक्त तौलको प्रतिनिधित्व गर्ने नमुनालाई झारिएको थियो।

त्यो प्यारासुटको काम अन्तरिक्ष वाहनहरूलाई यानबाट मंगल ग्रहको सतहमा उतार्ने क्रममा तिनको गतिलाई कम गर्नु थियो, तर परीक्षणका क्रममा उक्त नमुना तौल तीब्र गतिमै जमिनमा ठोक्किन पुगेको छ। र नमुना प्यारासुट पहिलो पटकको असफल परीक्षणमा जस्तै च्यातिएको थियो।

‘यो परीक्षण आठ दिन अगाडि गरिएको थियो त्यसैले अझै हामी अध्ययन गरिरहेका छौँ। हामीले समस्या राम्रोसँग बुझेका छौँ तर अब यो समाधान गर्न हामीसँग एउटा मात्रै मौका छ,’ युरोपेली अन्तरिक्ष एजेन्सीका निको डेटमानले भने, ‘हामीसँग आगामी नोभेम्बर र अर्को वर्ष फेब्रुअरीमा परीक्षण गर्न सकिने मौका छ। त्यो बेला परीक्षण सफल भयो भने हामी जुलाईमा प्रक्षेपण गर्न सक्छौँ।’

उनले भने, ‘तर यतिबेला हामी यो समस्या समाधान गर्न सक्ने कुरामा विश्वस्त छौँ।’ यदि एक्जोमार्सले सन् २०२० को मौका गुमाएमा अर्को मौका सन् २०२२ मा मात्रै आउने छ। मङ्गल ग्रहमा अन्तरिक्ष यान अवतरण गराउनका लागि आआफ्नै कक्षमा रही सूर्यको परिक्रमा गर्ने मङ्गल र पृथ्वी ग्रहबीचको दुरी अरू बेलाभन्दा सबैभन्दा कम हुनु पर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *