बेसहाराको सहारा ‘मेरी आमा’

डिसी नेपाल
३० साउन २०७६ ९:३४

भजनी। अभिभावक गुमाएका अनाथ, असहाय, बेसहारा बालबालिकाका लागि ‘मेरी आमा’ नामक संस्था सहारा भएको छ। कैलालीको टीकापुर नगरपालिका–२ राजीपुरमा सञ्चालन भएको उक्त मेरी आमा अनाथाश्रममा आमाबुबा गुमाएका सडक बालबालिका, होटलमा श्रम गरिरहेका बालबालिकालगायत कसैको सहाराको पर्खाइमा रहेका बालबालिकाको सहारा २६ वर्षीया दिव्या चौधरी ‘प्रयासी’ प्रेरणाको स्रोत बनेकी छन्। उनले अनाथ, असहाय बालबालिकाका लागि सहारा दिने भन्दै अनाथाश्रम खोलेको बताइन्।

साहित्य क्षेत्रमा राम्रो उचाइमा पुगेकी दिव्याले टीकापुर नगरपालिका वडा नं २ स्थित कालिका आधारभूत विद्यालयको भवनमा आश्रय लिई अनाथ बेसहारा बालबालिकाको लालनपालन, भरणपोषण तथा शिक्षा–दीक्षा दिँदै आएकी छन्। अभिभावक नभएका, शिक्षा, स्वास्थ्य र आधारभूत आवश्यकताबाट वञ्चित भई भौँतारिरहेका बालबालिकालाई आश्रय दिने काम दिव्याले गरेकी छन्।

“सानोमा धेरै चलचित्र हेर्थेँ। चलचित्रमा कथावस्तु यस्तै अनाथ, असहाय, गरीब, विपन्नमाथि नै केन्द्रित हुन्थे।” दिव्याले भनिन्, “त्यहीबाट प्रेरणा लिएर सानैदेखि अनाथाश्रम खोल्ने रहर थियो। आज बालबालिकासँगै रमाउँदै, खेल्दै आफ्नो जिम्मेवारी वहन गरेको महसुस भइरहेको छ।”

विसं २०७६ वैशाख १८ गते एक कार्यक्रमको आयोजना गरी शुरु भएको ‘मेरी आमा’ अनाथाश्रममा हालसम्म नौ बालबालिकाले आश्रय लिइरहेका छन्। उनीहरुको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्यलगायत सबै हेरचाह दिव्याले गरेकी छन्। बिहानै सबै बालबालिका योगाभ्यासमा सहभागी हुन्छन्। योगपश्चात् दिव्या आफैँले बालबालिकालाई नुहाइदिने, लुगा फेरिदिने काम गर्छिन्। उनीहरू त्यहीँ रहेको कालिका आधारभूत विद्यालयमा ती बालबालिका अध्ययन गरिरहेका छन्।

राजनीतिक क्षेत्रमा समेत सक्रिय रहेकी चौधरीले आफ्नो राजनीतिक मोह र व्यक्तिगत स्वार्थका लागि नभई कसैको भविष्य निर्माण गर्न आफूले गर्नसक्ने मानवीय व्यवहारलाई मात्र अगाडि सारेको बताइन्।

कैलारी गाउँपालिका–१ गदरियामा जन्मी टीकापुर नगरपालिका–१ राजीपुरमा स्थायी बसोबास गर्दै आएकी चौधरीका श्रीमान् कलाकार समेत हुन्। श्रीमान्को साथ, सहयोग र समर्थनले मात्र आफू लक्ष्य हासिल गर्न सफल भएको बताउँदै चौधरीले आश्रममा आश्रय लिइरहेका बालबालिकालाई आफ्नो खुट्टामा उभिन नसकुञ्जेलसम्म रेखदेख तथा पालनपोषणको जिम्मा लिने बताइन्।

हालसम्म व्यक्तिगत तथा संस्थागतरूपमा सामान्य सहयोग भइरहेको बताउँदै चौधरीले आवासको व्यवस्थापन राम्रो हुन नसकेका कारण बालबालिकालाई समस्या हुन थालेको बताइन्। हाल कालिका आधारभूत विद्यालयको भवनमा अस्थायीरूपमा आश्रय लिँदै आए पनि वैकल्पिक व्यवस्थाका लागि टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्रबहादुर रावलसँग छलफल भएको बताइन्। “आशा छ, सरकारले सहयोग गर्छ भन्ने”, दिव्याले भनिन्, “मैले समाजका लागि केही गर्न खोजेकी मात्र हूँ। यस कार्यलाई सफल बनाउन स्थानीय सरकारको पनि भूमिका महत्वपूर्ण रहन्छ र यसको श्रेय पनि स्थानीय सरकारको हुन जान्छ।”

‘मेरी आमा मेरो सहारा, बनाऊ मलाई चम्किलो तारा’ भन्ने उद्देश्यका साथ ‘मेरी आमा’ अनाथाश्रम सञ्चालनमा आएको दिव्याले बताइन्। उनले बुबाको मृत्युदर्ताको प्रमाणपत्र, आमा अर्को पोइल गएको, अरुको सहारामा बालबालिका बसिरहेको, कुनै होटल–रेष्टुराँमा काम गरिरहेको र सडकछाप बालबालिकालाई आफूहरुले खोज्दै आएको बताइन्। साथै, त्यस्तो अवस्थामा बालबालिका भेटिएमा सम्पर्क गरिदिन अथवा आश्रमसम्म पुर्याउने काम गरिदिन हुनसमेत आग्रह गरिन्।

“जीवन खान र लगाउनका लागि मात्र होइन ”, दिव्याले भनिन्, “जन्म लिएपश्चात् धेरै कुराहरु गर्नुपर्छ । ती कुराहरु गर्नका लागि कोही न कोहीको सहारा चाहिन्छ। त्यही सहारा नपाएका बालबालिकालाई सहारा दिनु हामी मानव जातिको पहिलो धर्म हो।” उनले बालबालिकालाई जीवनभर साथ दिने भन्दै काम गरेरै मर्ने प्रतिबद्धतासमेत व्यक्त गरेकी छन्। रासस




प्रतिक्रिया

One thought on “बेसहाराको सहारा ‘मेरी आमा’

Leave a Reply

Your email address will not be published. Required fields are marked *