वडा कार्यालय परिसरमै बाँधिदिए स्थानीयले पशुचौपाया

डिसी नेपाल
३० साउन २०७६ ९:४२

पाल्पा । रामपुर नगरपालिका क्षेत्रमा छाडा पशुचौपायाले सताएपछि यहाँका स्थानीयले वडा कार्यालय परिसरमै लगेर बाँधिदिएका छन्। खेतबारीमा लगाएका अन्नबाली, तरकारी खेती समूहमा आएका पशुले खाएर नष्ट पार्न थालेपछि कृषकले सम्बन्धित वडा कार्यालय तथा नगरपालिका कार्यालयमा गुनासो राख्दै आए पनि व्यवस्थापन हुन सकेको थिएन।

पटकपटक छाडा पशुचौपायाले सताएर हैरानी खेपेका यहाँका स्थानीयले नगरपालिका–६ को कार्यालय परिसरमै लगेर बाँधिदिएका हुन् । स्थानीय आफैँले अस्थायी टहरा निर्माण तथा बारबन्देज गरेर यत्रतत्र छरिएर रहेका छाडा पशु बाँध्न थालिएको छ।

छाडा पशुले रातदिन खेतबारीमा पसेर बालीनाली नै नोक्सान गरेको जताततैबाट गुनासो आएपछि स्थानीयको सक्रियतामा व्यवस्थापन गर्ने काम भएको धर्मराज ढकालले जानकारी दिए। “बारबन्देज, टहरा निर्माणलगायतका काम स्थानीय मिलेर गरियो, अहिले छाडा पशुचौपायाको गाउँघरमा समस्या कम हुँदै गएको छ”, उनले भने। अस्थायी टहराभित्र २५ वटा छाडा पशुचौपाया रहेका छन्।

उत्पादन लिने बेला भएका तरकारी, अन्नबाली छाडा पशुचौपायाले खाएर लगानी नै उठाउनै नसकिएको बताउँदै अहिले अस्थायी टहरा बनाएर राखेपछि कृषि व्यवसाय ढुक्कका साथ गर्न थालेको गङ्गा बस्यालले बताए। “पटक पटक खेतबारीमा पसेर बालीनाली नै सखापै पारेपछि वडा कार्यालयमै डोर्याएर लगेर बाँधिदिएका छौँ, अस्थायी टहराभित्र पशु बाँध्न थालेपछि कृषकलाई ठूलो राहत मिलेको छ”, उनले भने।

अस्थायी टहरा निर्माण खर्च व्यवस्थान तथा हेरालु दुई जना व्यक्तिको प्रबन्ध वडा कार्यालयले गरिदिएको वडाध्यक्ष हुमनाथ न्यौपानेले बताए । “कृषकको गुनासोलाई मध्यनजर गर्दै हाललाई वडा कार्यालय परिसरमै अस्थाथी टहरामा बाँधिएको छ, छाडा पशु व्यवस्थापन तथा गाई संरक्षणका लागि वडा नं ६ कै तातोपानीघाटमा पक्की गौशाला निर्माणको काम भइरहेको छ, आउँदो तिहारको लक्ष्मीपूजाका दिन गाई बाँधेर उद्घाटन गर्ने योजना छ”, अध्यक्ष न्यौपानेले भने ।

नगरपालिकाको रु ५० लाखको लागत अनुमानमा १५ रोपनी क्षेत्रफलमा २०० पशु अट्ने क्षमताको गौशाला निर्माण भइरहेको भवन निर्माण समितिका संयोजक ओमप्रकाश रेग्मीले बताए । यहाँ गौशाला निर्माण कार्य हुन थालेपछि रामपुरका कृषक खुशी भएका छन्। यत्रतत्र छरिएर दिनहुँ समूहमा १०÷१५ वटा छाडा गाई, बाच्छा किसानको खेतबारीमा पसेर एकैपटक बालीनाली नै सखापै पार्न थालेपछि कृषकले सास्ती भोगिरहेका छन्।

घरमा पालिएका गाईले दूध दिन छाडेपछि पालनपोषणको झन्झटले किसानले घरबाट निकालेर अन्यत्र लगेर छाड्ने गरेकाले हिजोआज नगरपालिका क्षेत्रमा छाडा पशु चौपायाको आतङ्क बढ्दो छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *