राजश्वमा गिरावट : लक्ष्यको तुलनामा १३ प्रतिशतले कमी

डिसी नेपाल
३० साउन २०७६ १६:२५

नवलपरासी । पश्चिम नवलपरासीको महेशपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०७५÷७६ मा कूल रु १२ करोड ९६ लाख २४ हजार ५१९ बराबरको राजश्व सङ्कलन गरेको छ।

सो आर्थिक वर्षमा करीब १५ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो। यो लक्ष्यको तुलनामा १३ दशमलव ५८ प्रतिशतले कमी हो। कर्मचारी अभाव तथा भौतिक पूर्वाधार र अन्य समस्याका कारण लक्ष्यभन्दा केही कम राजश्व सङ्कलन भएको महेशपुर भन्सार कार्यालयले जनाएको छ।

यो जिल्ला खुला सिमाना भएका कारण सीमावर्ती क्षेत्रमा व्यापक चोरी तस्करी हुने हुनाले पनि भन्सारको राजश्व लक्ष्यभन्दा कम सङ्कलन भएको कार्यालयले जनाएको छ। मूल भन्सारमा परिणत भएको एक वर्ष बितिसक्दा पनि यसको विस्तारका लागि आवश्यक धैरे काम गर्न बाँकी नै छ।

भन्सार कार्यालयलाई पूर्णरूपमा कार्यान्वयमा ल्याउनका लागि आवश्यक जग्गा अधिग्रहण, सडक, ठूला गोदाम, जाँचकी भवन, कर्मचारी बस्ने भवनजस्ता महत्वपूर्ण भौतिक पूर्वाधारको विकास हुन बाँकी देखिन्छ।

कोलकता बन्दरगाह नाकाबाट सबैभन्दा छोटो दूरीमा पश्चिम नवलपरासीको महेशपुर नाका मानिन्छ। नेपाल र भारत दुवैतर्फ आवश्यकताअनुसार सडक सञ्जाल र दुवै भन्सार कार्यालयको उचित ब्यवस्थापन हुन सके यस भन्सार कार्यालयले पनि लक्ष्यअनुसार राजश्व सङ्कलन गर्न सक्ने अवस्था देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *