बुढेसकालमा ‘अधिवक्ता’ बन्ने इच्छा

डिसी नेपाल
३१ साउन २०७६ १३:२३

काठमाडाैं। नाति–नातिनासँग रमाउने उमेरमा बलभद्र वलीलाई अधिवक्ता बन्ने रहरले दाङबाट नेपालगञ्ज पुर्याएको छ। कालोकोट लगाएर अदालतमा बहस गर्ने तीव्र इच्छाले ७२ वर्षे वलीलाई नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पससम्म पुर्याएको हो।

महेन्द्र बहुमुखी क्याम्पसबाटै विसं २०७२ मा स्नातक गरेका वलीले दाङबाटै विसं २०७४ मा स्नातकोत्तर गरिसकेका थिए। दाङको बबई गाउँपालिका–३ रामपुर (घट्टेखोला) का वली गत मङ्सिरमा नेपालगञ्ज आएर क्याम्पस भर्ना भएका थिए। उनी कक्षाकै जोशिला विद्यार्थीमा गनिन्छन्।

भर्ना हुने क्रममा क्याम्पस प्रशासनले नियमित पढाइ हुन कम्तीमा १० विद्यार्थी उपस्थित हुनुपर्ने जानकारी वलीलाई दिएपछि नियमित कक्षा लिन चुनौती थपियो। उनले नयाँ उपाय सोच्दै भर्ना भएका सबैको नाम र फोन नम्बर टिपेर क्याम्पसबाट निस्किए। कक्षामा पढ्न नआए पनि एलएलबीमा भर्ना हुने विद्यार्थीको सङ्ख्या एक हजार १८८ थियो।

उनले भने, “कोठामा आएर सबैलाई फोन गरे। नियमित कक्षा लिन आउनुपर्यो भने। प्रायः सबै जागिरे रहेछन्। नजिक–नजिक भएकाले आउँछु भने। केही आए पनि। मेरै पहलमा अहिले तीन महीनादेखि क्याम्पसमा एलएलबीको कक्षा नियमित चलेको छ।” वलीले कक्षा लिन आएका विद्यार्थीको उपस्थिति पनि गराउँदै आएका छन्।

“हालसम्म ९७ विद्यार्थीले कक्षा लिनुभएको छ”, वलीले भने, “कक्षामा दैनिक ५० जनाको हाराहारीमा उपस्थिति हुने गरेको छ।” वलीले अहिलेसम्म कक्षा छोडेका छैनन्। वलीकै कारण महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्जमा १५ वर्षपछि कानून सङ्कायको कक्षा चलेको छ। यसअघि विद्यार्थी त भर्ना हुन्थे, पढ्न आउँथेनन्। परीक्षा दिनमात्रै आउँथे। तर अहिले वलीले कुनै शिक्षक पढाउन आएनन् भने फोन गरेर ‘किन नआएको’ भनेर प्रश्न गर्छन्।

क्याम्पसमा कार्यविधि कानून पढाउने लोकबहादुर शाह भन्छन्, “हजुरबा उमेरका वलीको अनुशासन लोभलाग्दो छ। ७२ वर्षका व्यक्तिको पढ्ने जाँगर देख्दा हामीलाई पनि जोश पैदा गरेको छ।”

शाहका अनुसार, वली कक्षामा अनुशासित तरिकाले बस्ने, उठेर मर्यादित तरिकाले प्रश्न गर्ने गर्छन्। नेपालगञ्जमा कोठा भाडामा लिएर पढ्न बसेका वलीलाई घरपरिवारले बुढेसकालमा किन दुःख गरेको भनेर कराउँछन्। “छोरी अधिवक्ता नै छन्। किन दुःख गर्नुहुन्छ बुबा भनेर सम्झाँउछिन्। छोरा लेखनदास छन्। बेकारमा किन पढ्नुपर्यो भन्छन्”, वलीले भने।

पढाइमै ध्याउन्न भएकै कारण ७२ वर्षे वली बिहान ४ बजे उठेर क्याम्पस जानका लागि तयारी शुरु गर्छन्। “बिहान ६ बजेको कक्षा नछुटोस् भनेर मोबाइलमा चार बजेको घण्टी लगाएको छु। अब त बानी भइसक्यो, घण्टी नबज्दै ब्युुझिहाल्छु”, वलीले भने। उनी अरु युवा विद्यार्थीभन्दा पहिले नै कक्षा कोठामा पुुगिसक्छन्।

“जुवातास खेलेर गाउँमा समय फाल्नुभन्दा ज्ञानका लागि पढ्नु राम्रो होइन र ? हामीजस्ता बुढाले पढ्दा युवाहरुमा पनि जोश जाँगर आउँला नि।” प्रधानपञ्चदेखि गाविस अध्यक्षसम्म भइसकेका वलीको ध्यान राजनीतिभन्दा पढाइतिर धेरै छ। “राजनीतिमा सक्रिय हुन्न, पढाइतिरै लागेको छु। पढाइ सकेर वकालत गर्ने धोको छ”, उनले भने।

राजनीतिमा वलीको अस्थिरता

विसं २०२३ मा लोकसेवा आयोगको कार्यालयमा कार्यालय सहयोगी हुनुभएका वली विसं २०२४ मा मालपोत कार्यालयमा अस्थायी बैदार भए। २०२५ मा लोकसेवाबाट बैदारमा नाम निकालेर अदालतमा काम थाले। त्यसबेला छ महीना तत्कालीन भेरी अञ्चल अस्पताल, नेपालगञ्जमा मुखिया भएर काम गरे।

विसं २०२७ देखि २०४२ सम्म शिक्षक रहेका वली त्यसपछि जागिर छाडेर राजनीतिमा लागे। “विसं २०४३ मा दाङको पुरन्धारा गाउँपञ्चायतको प्रधानपञ्च भएँ । बहुदल आएपछि पार्टीतिर लागेँ”, वलीले भने, “प्रधानपञ्चमा एक हजार ५०० मत ल्याएँ । त्यतिबेला काङ्ग्रेसको जगजगी थियो ।”

नेकपा एमालेबाट २०४९ को पहिलो स्थानीय चुनावमा अध्यक्ष पदमा उम्मेदवारी दिँदा जम्मा एक हजार मत आयो र हार व्यहोर्नुपर्यो । विसं २०५४ मा पुनः गाविस अध्यक्षमा चुनाव लडेका वली त्यसबेला भने दुई हजार ४०० मत ल्याएर विजयी भए। त्यसपछि भने वली एमाले छाडेर राप्रपातिर हानिए।

विसं २०६४ को चुनावमा राप्रपाबाट सांसदको उम्मेदवार बनेका वलीको मत क्रमशः घट्दै जान थाल्यो । उनले भने, “दुर्भाग्य, सांसदमा चुनाव लड्दा ५५० मत मात्रै आयो। २०७४ को स्थानीय चुनावमा गाउँपालिका अध्यक्षमा चुनाव लड्दा झन् १५० मत मात्रै आयो।” २०७४ को चुनावपछि वली पुनः तत्कालीन एमालेमै फर्किए। “पार्टीले उचित जिम्मेवारी दियो भने राजनीतिमा सक्रिय हुन्छ, नदिए पढाइ पूरा गरेर वकालत गर्छु”, उनले भने। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *