बाढी-पहिरोले पाँचथरको याङ्वरकमा भौतिक संरचना क्षतविक्षत, सञ्चार र यातायात ठप्प
काठमाडौं । शनिबार बिहान पाँचथरको याङ्वरक गाउँपालिकामा गएको भीषण बाढी र पहिरोले व्यापक भौतिक संरचना र स्थानीय पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ। अविरल वर्षासँगै आएको यस प्राकृतिक विपद्का कारण स्थानीय बस्ती, सडक सञ्जाल, पुल, खानेपानी र विद्युत् सेवा पूर्ण रूपमा प्रभावित बन्न पुगेका छन्।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिश कर्णका अनुसार रातको समयमा विपद् आए पनि स्थानीयवासी चनाखो भएका कारण हालसम्म कुनै मानवीय क्षति भने भएको छैन।
पहिरोका कारण याङ्वरक-१ निवासी महमलाल खवासको घर र गोठ, कविराज राईको घर तथा बलबहादुर खालिङको घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ओयाम बजार क्षेत्र नजिकै पनि ठूलो पहिरो खसेका कारण सो आसपासका बस्तीहरू उच्च जोखिममा परेका छन्।
प्राकृतिक प्रकोपको प्रत्यक्ष असर स्थानीय खानेपानीका मुहान, सिँचाइ कुलो र विद्युत् सेवामा समेत पर्दा नागरिकको दैनिक जनजीवन कष्टकर बनेको छ।
बाढी र पहिरोको सबैभन्दा ठूलो धक्का यस क्षेत्रको यातायात पूर्वाधार र सडक सञ्जालमा देखिएको छ, जसका कारण समग्र यातायात सेवा ठप्प भएको छ। मध्यपहाडी लोकमार्ग अन्तर्गतको थर्पु-चिवाभञ्ज्याङ खण्डका विभिन्न ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको छ भने दोभानेमा बनाइएको डाइभर्सन र एउटा निर्माणाधीन पक्की पुल बाढीले बगाएको छ।
बाढीले अन्तर-जिल्ला जोड्ने रणनीतिक पुलहरूमा समेत गम्भीर क्षति पुर्याएको छ, जस अन्तर्गत पाँचथर र ताप्लेजुङ जोड्ने इन्द्रावती खोलाको पुलमा क्षति पुग्दा दुई जिल्लाबीचको आवतजावत पूर्ण रूपमा रोकिएको छ। यसका साथै स्थानीय स्तरमा आवतजावतका लागि प्रयोग हुने च्याङथापु-चाम्लिङडाँडा, च्याङथापु-एकराते र नाम्रेक-फलैचा जोड्ने झोलुङ्गे पुलहरू बाढीले बगाउनुका साथै हिलिहाङ र ताप्लेजुङ जोड्ने निर्माणाधीन लिम्बुनी मोटरेबल पुलमा समेत ठूलो क्षति पुगेको छ।
प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनुका साथै मोबाइल नेटवर्क र इन्टरनेट सेवा समेत पूर्ण रूपमा अवरुद्ध भएकाले घटनाको विस्तृत र यकिन विवरण संकलन गर्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई निकै कठिनाइ भइरहेको छ। डिएसपी कर्णका अनुसार सञ्चार र यातायात दुवै विच्छेद भए तापनि प्रहरी टोली प्रभावित क्षेत्रमा परिचालन भइसकेको र क्षतिको विवरण संकलन गर्ने प्रयास तीव्र रूपमा भइरहेको छ।







डिसी नेपाल







Facebook Comment