शृङ्गेरी शारदा पीठका उत्तराधिकारी शंकराचार्य श्री विधुशेखर भारतीद्वारा बुढानीलकण्ठमा विशेष पूजा

डिसी नेपाल
९ जेठ २०८३ ११:१९

काठमाडौं। दक्षिण भारतको प्रसिद्ध शृङ्गेरी शारदा पीठका पीठाधीश जगद्गुरु शंकराचार्य अनन्तश्री विभूषित श्री भारती तीर्थजी महाराजका उत्तराधिकारी श्री विधुशेखर भारतीजी महाराजले आज काठमाडौंको पवित्र धार्मिक स्थल बुढानीलकण्ठ मन्दिरमा विशेष पूजा अर्चना गरेका छन्।

आफ्नो नेपाल भ्रमणका क्रममा उनले बूढानीलकण्ठ भगवान् नारायणको दर्शन गरी लोककल्याणको कामना सहित विशेष आराधना गरेका हुन्।

मन्दिर परिसरमा पुगेका श्री विधुशेखर भारतीजी महाराजलाई बुढानीलकण्ठ मन्दिरका महन्त १००८ स्वामी निगमानन्दले भव्य स्वागत गरेका थिए। सो अवसरमा मन्दिरका पुजारी, वैदिक ब्राह्मणहरू र स्थानीय भक्तजनहरूले मङ्गल धुन तथा वैदिक मन्त्रोच्चारणसहित उनको स्वागत गरेका थिए। स्वागत पश्चात् उनले बूढानीलकण्ठको जलकुण्ड परिसरमा धार्मिक विधिपूर्वक विशेष पूजाहरू सम्पन्न गरे।

सनातन धर्मका सर्वोच्च गुरुका रूपमा पूजनीय शंकराचार्यका उत्तराधिकारीको यो नेपाल आगमन र बूढानीलकण्ठ दर्शनलाई धार्मिक वृत्तमा निकै महत्त्वका साथ हेरिएको छ।

वैदिक सनातन धर्मको उत्थान र संरक्षणका लागि आदि गुरु शंकराचार्यले भारत वर्षका चार कुनामा चारवटा पवित्र पीठहरूको स्थापना गरेका थिए। तीमध्ये दक्षिणको कर्नाटकस्थित चिकमगलुरमा स्थापित ‘श्री शृङ्गेरी शारदा पीठ’ जेठो र अत्यन्त उच्च आदर मानिएको पीठ हो।

यही ऐतिहासिक पीठको गरिमामय परम्परालाई अघि बढाउँदै वर्तमान जगद्गुरु शंकराचार्य श्री भारती तीर्थजी महाराजको निर्देशनमा उत्तराधिकारी श्री विधुशेखर भारतीजी महाराजले आध्यात्मिक अभियानको नेतृत्व गरिरहेका छन्।

सनातन धर्ममा शंकराचार्य परम्परालाई सर्वोच्च गुरु र पथप्रदर्शकका रूपमा पुजिन्छ, जसले आदिकालदेखि नै वैदिक ज्ञान, उपनिषद् र अद्वैत वेदान्तको दर्शनलाई विश्वभर फैलाउने काम गरिरहेको छ।

नेपाल र भारत दुवै देश हिन्दू सनातनी धर्मावलम्बीहरूको बाहुल्यता रहेका राष्ट्र हुन्। यी दुई देशबीचको सम्बन्ध केवल राजनीतिक वा कूटनीतिक सीमामा मात्र सीमित नभएर त्रेतायुग र द्वापरयुगदेखिको सांस्कृतिक तथा आध्यात्मिक कडीले जोडिएको छ।

नेपाल र भारतको यो सम्बन्धलाई ‘रोटी-बेटी’ को सम्बन्ध मात्र होइन, ‘पूजा-पद्धति र आस्था’ को अटुट सम्बन्धका रूपमा समेत हेरिन्छ। दुवै देशका नागरिकले पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधाम, काशी, बद्रीनाथ र रामेश्वरम जस्ता पावन तीर्थहरूलाई समान आस्थाका साथ पुज्दै आएका छन्। यस प्रकारको धार्मिक र सांस्कृतिक सामीप्यले दुई देशका जनताबीच एकात्मताको भावना जागृत गराएको छ।

नेपाल र शंकराचार्य परम्पराको सम्बन्ध ऐतिहासिक रूपमा अत्यन्त गहिरो छ। आदि गुरु शंकराचार्यले आफ्नो दिग्विजय यात्राका क्रममा नेपालको भ्रमण गरी पशुपतिनाथ मन्दिरमा बुढानीलकण्ठकै जलकुण्डको पवित्र जलले अभिषेक गर्ने परम्पराको जग बसालेको धार्मिक मान्यता छ।

सोही ऐतिहासिक कडीको निरन्तरता स्वरूप शृङ्गेरी पीठका उत्तराधिकारीको यो बुढानीलकण्ठ आगमनलाई धार्मिक वृत्तमा निकै महत्त्वका साथ हेरिएको छ।

हिन्दू धर्ममा नारायण र शिवलाई अभिन्न रूपमा हेरिने हुनाले पनि पशुपतिनाथका परम्परागत आराध्य र बुढानीलकण्ठका जलशायी भगवान् विष्णुको यो दर्शनले नेपाल-भारतबीचको सांस्कृतिक सेतुलाई अझ बलियो बनाएको छ।

धार्मिक विज्ञहरूका अनुसार, यस्ता उच्च तहका आध्यात्मिक व्यक्तित्वहरूको आगमनले नेपालको धार्मिक पर्यटनको प्रवर्द्धन हुनुका साथै दुवै देशमा रहेका सनातनी युवा पुस्तामा आफ्नो संस्कार र सभ्यताप्रति गौरवबोध गराउन विशेष भूमिका खेल्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *