भारत-पाकिस्तान नियन्त्रणरेखामा गोली हानाहान, दुवै देशका सैनिक मारिएको पाकिस्तानको दाबी

डिसी नेपाल
३१ साउन २०७६ १४:२६

काठमाडौं। कश्मीरस्थित भारत-पाकिस्तान नियन्त्रणरेखामा भारतीय सेनासँग भएको गोली हानाहानमा आफ्ना तीन सैनिकको मृत्यु भएको पाकिस्तानले बताएको छ।सो घटनामा दुई गैरसैनिक नागरिकको पनि ज्यान गएको उसको भनाइ छ।पाँच भारतीय सैनिक पनि मारिएको पाकिस्तानको दाबीलाई भारतले खण्डन गरेको छ।

भारतले आफ्नो नियन्त्रणमा रहेको जम्मू-कश्मीर राज्यलाई दिइएको विशेष संवैधानिक मान्यता खोसेपछि सो क्षेत्र तनावग्रस्त बनेको छ ।कश्मीर क्षेत्र भारत र पाकिस्तानबीच छुट्ट्याउने सीमा हो।पाकिस्तानको सेनाले ट्विटरमार्फत् एक विज्ञप्ति प्रकाशित गर्दै भनेको छ भारतको कब्जामा रहेको जम्मू-कश्मीरको अनिश्चित अवस्थाबाट ध्यान हटाउन भारतीय सेनाले नियन्त्रणरेखामा गोलीबारी बढाएको छ। तीन पाकिस्तानी सैनिक शहीद भएका छन्। पाकिस्तानले पाँच भारतीय सैनिकलाई मारिदिएको दाबीलाई भारतले अस्वीकार गरेको छ।

यसअघि बुधवार पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतले थप कारबाही गर्न लागेको र आफूहरूले ईँटको जबाफ ढुङ्गाले दिने बताएका थिए।
त्यसको भोलिपल्ट स्वतन्त्रता दिवसको भाषणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीरको विकासका लागि सो क्षेत्रलाई दिइएको विशेष मान्यता हटाइएको दाबी गरे। उनले इमरान खानको टिप्पणीबारे कुनै प्रतिक्रिया त दिएनन् तर उनको डेढ घण्टा लामो भाषण कश्मीरकै सेरोफेरोमा रह्यो।
यसै महिनाको सुरुमा भारत सरकारले विवादित कश्मीरको विशेष मान्यता खारेज गरेएता सो क्षेत्र तनावग्रस्थ भएको हो ।

पाकिस्तानले भने उनलाई भारतमा हिन्दू सर्वोच्चतावादी नीति लागु गराइरहेको आरोप लगाएको छ। भारतको नीतिका कारण पूरै दक्षिण एशिया क्षेत्रमा नयाँ खतरा पैदा भएको पाकिस्तानले बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *