हङ्कङका प्रदर्शनकारीसँग भेट गर्न सीलाई ट्रम्पको सुझाव

डिसी नेपाल
३१ साउन २०७६ १८:२५

वाशिङ्टन (एजेन्सी) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिन पिङलाई प्रजातान्त्रिक सुधारका माग गरिरहेका हङ्कङका विरोध प्रदर्शनकारीहरूलाई भेट्न सुझाव दिएका छन् । केही सातादेखि हङ्कङ अशान्त रहेको छ । प्रदर्शनकारीले यो साता त्यहाँको विमानस्थलमा अवरोध गरेपछि उडानसमेत स्थगित भएका थिए ।

यसअघि ट्रम्पले उक्त संकटबारे कुरा गर्न सी र आफ्नो भेट हुनुपर्ने संकेत गरेका थिए । गत १० सातादेखि हङ्कङमा दशौँ लाख मानिसहरूले सरकार विरोधी प्रदर्शनमा भाग लिइरहेका छन् ।

बिहीवार बेलायतस्थित चिनियाँ राजदूतले स्थिति थप बिग्रिए बेइजिङले हङ्कङमा हस्तक्षेप गर्ने बताएका छन् । सन् १९९७ मा बेलायतले उक्त भूभाग चीनलाई हस्तान्तरण गरेयता हङ्कङले सबभन्दा खराब अवस्था सामना गरिरहेको उनले बताए । हालको प्रदर्शन हङ्कङबाट चीन मुख्यभूमिमा सुपुर्दगी हुनसक्ने विवादास्पद विधेयकको विरोधबाट सुरु भएको थियो ।

अघिल्लो ट्वीटमा ट्रम्पले राष्ट्रपति सीले हङ्कङको समस्या मानवीय तवरले समाधान गर्नेमा आफूलाई कत्ति पनि शंका नरहेको जनाएका थिए । चीन–अमेरिका व्यापार तनावका माझ उनले हङ्कङ प्रदर्शनलाई बेइजिङको अमेरिकासँग प्रस्तावित व्यापार सम्झौतासँग जोडेका थिए । ‘निश्चय पनि चीन सम्झौता चाहन्छ । तर पहिले उनीहरूले हङ्कङ समस्याको मानवीय तवरले समाधान गरुन्’, उनले ट्वीट गरेका थिए । विवादास्पद सुपुर्दगी विधेयक हाल फिर्ता भइसकेको छ । तर प्रदर्शन भने प्रजातान्त्रिक सुधारको व्यापक मागमा परिणत भएको छ । पहिला बेलायती उपनिवेश रहेको हङ्कङ हाल ‘एक देश, दुई प्रणाली’ अन्तर्गत चीनको अंग छ र त्यहाँ निकै उच्च स्तरको स्वशासन प्रदान गरिएको छ ।

बीबीसी चिनियाँ सेवाका अमेरिका संवाददाता जाओयीन फङका अनुसार राष्ट्रपति सीले हङ्कङका प्रदर्शनकारीलाई भेट्ने सम्भावना एकदम कम छ । बेइजिङले ती प्रदर्शनकारीलाई ‘आतंकारीको जस्तै व्यवहार भएका दंगाकारी’ भनेको छ । त्यसैले फङ भन्छन्, ‘त्यस्ता ‘दंगाकारी’ सँग आफ्नो नेताको भेटलाई चिनियाँ सरकारले उचित ठह¥याउन सक्दैन । त्यसमाथि प्रदर्शनकारीहरू स्वयंका पनि कोही खास नेता छैन जसले बेइजिङसँग छलफलमा अगुवाइ गर्न सकोस् ।’

अझ महत्वपूर्ण के छ भने सी र प्रदर्शनकारीको भेटघाट सन् १९८९ मा तत्कालीन चिनियाँ प्रधानमन्त्री ली फङ र तिआन्आन्मेन चोकका प्रदर्शनकारीबीचको भेटघाटजस्तै देखिन सक्छ । ली फङको उक्त भेटघाटमा उनले उक्त विद्यार्थी प्रदर्शनलाई दिइएको दांको सङ्ज्ञा फिर्ता लिन मानेनन् । भेटघाट फलदायी भएन । त्यसको दुई सातापश्चात् हिंसक दमन भएको थियो । ‘चिनियाँ सरकारले त्यो घटनालाई विश्वको स्मरणमा पुनः ल्याउन चाहने छैन,’ जाओयीन फङ भन्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *