नेपालगञ्जमा जुम्ली स्याउको माग बढ्यो, विस्थापित हुँदै विदेशी स्याउ

डिसी नेपाल
२ भदौ २०७६ ११:२६
4
Shares

नेपालगञ्ज । नेपालमा जुम्लाको स्याउको खुबै नाम छ। अर्गानिक भएकाले जुम्ली स्याउ प्रख्यात छ । जुम्ली स्याउको प्रमुख बजार नेपालगञ्ज हो । अहिले बजारमा जताततै जुम्लाको स्याउ बिक्री भइरहेको छ। चीन र भारतको स्याउ बढी खपत हुने गरेको नेपालगञ्जमा अहिले जुम्लाको स्याउले राम्रै बजार पाएको छ ।

नेपालगञ्जका फलफूल व्यापारी अहिले जुम्लाको स्याउ बिक्री गर्नमा व्यस्त छन् । जुम्लासम्म मोटरबाटो पुगेकाले अहिले सडकमार्ग भएर स्याउ ढुवानी गर्न थालिएको छ । शुरुआती चरण भएकाले दैनिक एक ट्रक स्याउ ढुवानी हुने गरेको स्याउ व्यापारी बताउँछन् । नेपालगञ्जस्थित गुरुद्वारा रोडमा रहेको नेपाल फलफूल सागसब्जीको थोकमण्डीमा जुम्ली स्याउ खरिद बिक्री भइरहेको छ।

यहीँबाट फुटकर बिक्रेताले किनेर अन्य ठाउँमा स्याउ बिक्री गर्ने गरेको खुद्रा व्यापारी असलम अन्सारीले बताए। स्याउले नेपालगञ्जमा राम्रो बजार पाएपछि जुम्लाका किसान लाभान्वित भएका छन् ।

नेपाल फलफूल सागसब्जी व्यवसायी सङ्घ नेपालगञ्जका सदस्य मेराइलाल साहु भन्छन्, “जुम्लाबाट एकै जातको स्याउ तीन वर्गमा विभाजित गरी नेपालगञ्ज ल्याउँछौँ ।” नेपालगञ्जका व्यापारीले उक्त स्याउ बर्दिया र कैलालीसम्म बिक्री हुने गरेको छ । नेपालगञ्जमा अहिले जुम्लाको स्याउ प्रतिकिलो रु १०० देखि रु १५० सम्ममा बिक्री हुने गरेको फलफूल व्यापारी मोहम्मद नसिमले बताए । जुम्लाको स्याउ अहिले बजारमा ठूलो, मझौला र सानो ग्रेडिङ गरेर बिक्री भइरहेको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *