उपचार गराउँदा जब घाँटीमा नक्कली दाँत भेटियो…

डिसी नेपाल
२ भदौ २०७६ २१:५७

लण्डन (बीबीसी)। ब्रिटेनमा एकजना बिरामीको नक्कली दाँत नियमित शल्यक्रियाका क्रममा घाँटीमा अड्किएको र आठ दिनसम्म फेला नपरेको तथ्य बाहिर आएको छ।

ती ७२ वर्षीय वृद्धले निल्न समस्या भएको गुनासो गरेका थिए र चिकित्सकहरूले उनको नक्कली दाँत फेला पर्नुअघि उनको खकारमा रगत देखिने गरेको थियो।

उनी पटक पटक अस्पताल धाउनु परेको थियो। त्यसबाहेक पेटको शल्यक्रियाका कारण उत्पन्न जटिलतालाई सच्च्याउन उनको थप शल्क्रिया गर्नुपरेको थियो र शरीरमा रगत दिनु परेको थियो। ब्रिटेनको नरफोकस्थित जेम्स पेगेट युनिभर्सिटी अस्पतालले उसले प्रकियाहरूमा परिमार्जन गरेर उपचार गरेको जनाएको छ।

यो घटना बारेका विवरण ब्रिटिश मेडिकल जर्नलको केस रिपोर्टमा उल्लेख गरिएको थियो जसमा लेखकहरूले बेहोस नबनाई नक्कली दाँत निकाल्न सुझाव दिएका थिए। सन् २०१८ मा पेटमा रहेको हानि नगर्ने गाँठो हटाउन शल्यक्रिया गरेका ती व्यक्ति छ दिनपछि पुनः अस्पताल पुगेका थिए र उनले चिकित्सकहरूलाई आफूले ठोस खानेकुरा खान नसकेको बताएका थिए।

गोर्लस्टन अस्पतालका चिकित्सकहरूले शल्यक्रियाका क्रममा घाँटीमा राखेको ट्युबको नकारात्मक प्रभावले श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण निम्त्याएको ठान्दै उनलाई एन्टिबायोटिक र अन्य औषधि दिएका थिए।

दुई दिनपछि ती व्यक्ति पुनः समस्या लिएर आएपछि चिकित्सकहरूले उनको घाँटीको जाँच गरेका थिए र त्यहाँ एउटा अर्ध गोलाकार आकारको वस्तु अड्किएको फेला पारेका थिए। त्यसपछि उनले चिकित्सकहरूलाई शल्यक्रियाका लागि अस्पतालमा समय बिताउँदा आफ्नो तीनवटा नक्कली दाँत हराएको बताएका थिए।

नक्कली दाँत हटाउन गरिएको शल्यक्रियापछि उनी घर फर्किएका थिए, तर रगत नथामिएपछि उनले चार पटक अस्पताल धाउनु परेको थियो। शल्यचिकित्सकहरूले उनको घाँटीको घाउ ठिक पार्दासम्म उनले ठूलो परिमाणमा रगत गुमाइसकेका थिए त्यही भएर उनलाई रगत दिनु परेको थियो।

उक्त प्रतिवेदनका लेखकहरूले शल्यक्रियाका लागि बिरामीलाई बेहोस बनाउने क्रममा मानिसहरूले नक्कली दाँत निलेका अरू पनि प्रमाणित घटना भएका जनाएका छन्। उनीहरूले नक्कली दाँत वा त्यससँग सम्बन्धित अन्य वस्तुहरूबारे शल्यक्रिया अघि र पछि अभिलेख राखिनुपर्नेमा जोड दिएका छन्।

जेम्स पेगेट युनिभर्सिटी अस्पतालकी मेडिकल निर्देशक हेजल स्टुआर्टले त्यसबारे विस्तृत अनुसन्धान गरिएको बताएकी छन्। ‘जुन घटना भयो त्यसको परिणाम स्वरूप प्रक्रियामा पुनरावलोकन गरिएको छ र आवश्यकता अनुसार परिमार्जन पनि गरिएको छ। र त्यसपछि सिकिएका पाठ सबै कर्मचारीहरूलाई जनकारी गराइएको छ’, उनले भनिन्।




प्रतिक्रिया

One thought on “उपचार गराउँदा जब घाँटीमा नक्कली दाँत भेटियो…

Leave a Reply

Your email address will not be published. Required fields are marked *