पर्शुराम नगरपालिकामा हैजा भएको पुष्टि : ८१ बिरामी
डडेल्धुरा । डडेल्धुराको भित्री मधेशमा पर्ने पर्शुराम नगरपालिका–८ जमरानीमा गम्भीर खालको झाडापखाला ‘हैजा’ को प्रकोप देखिएको छ।
नगरपालिकाअन्तर्गत सानखोला र धाँदलीफाटाबाट फैलिएको प्रकोप नजिकै रहेकोे गुप्टेगाडा भन्ने गाउँमा पनि देखिएको चिकित्सकले जनाएका छन्।
बिरामीको दिसाको नमूना परीक्षण गर्दा गम्भीर खालको झाडापखाला ‘हैजा’कै जिवाणु भेटिएको डडेल्धुरा अस्पतालका प्रयोगशाला इञ्चार्ज ईश्वरी भुसालले बताए। पानीको नमूना परीक्षणमा दिसामा मात्र पाइने ब्यक्टेरिया ‘इकोलाई’ भेटिएकाले महामारी यसैबाट फैलिएको उनको भनाइ छ ।
हैजा हो भन्ने पुष्टि भएको छ। हैजा पानीबाट सरेको हुनसक्ने चिकित्सकको भनाइ छ। यो अहिले नियन्त्रण बाहिर रहेको छ । लगातार बिरामी आएका छन् एउटामात्र क्लिनिकमा पाँच जना स्वास्थ्यकर्मीले उपचार गरिरहेका बताइएको छ । स्वास्थ्यकर्मीको कमीका कारण पनि हैजाको सङ्क्रमण बढी रहेको स्थानीयले बताएका छन्।
पर्शुरामका तीन गाउँमा अहिलेसम्म ८१ जनामा गम्भीर खालको झाडापखाला ‘हैजा’ देखिएको साँदनी स्वास्थ्य चौकीका प्रमुख आनन्दकुमार यादवले जानकारी दिए।
एक जना गर्भवती, सात बालबालिका र अन्य ७३ जनालाई हैजा भएको पुष्टि भएको डडेल्धुरा अस्पतालका प्रयोगशाला इञ्चार्ज भुसालले जानकारी दिए।
उनले भने, ‘आठ दिनदेखि रातदिन स्वास्थ्यकर्मीको टोली उक्त स्थानमा काम गरिरहेका छन् तर पनि हैजा नियन्त्रणमा लिन सकिएको छैन।’ साउन २९ गते पहिलोपटक झाडापखालाको प्रकोप देखिएको हो।रासस
Facebook Comment