२०औं एसियाली खेलकुद: २११ सदस्यीय नेपाली टोलीलाई खेलकुदमन्त्री पोखरेलद्वारा बिदाइ

डिसी नेपाल
२५ भदौ २०८३ १९:४०

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुद (एसियाड) मा सहभागी हुने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गरेका छन्। बिहीबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच उनले टोलीलाई सफलताको शुभकामनासहित बिदाइ गरेका हुन्।

कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले सीमित स्रोत र साधनका बाबजुद खेलाडीहरूले गरेको मेहेनतको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिष्ठा र गौरवलाई ध्यानमा राखेर उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्न आग्रह गरे।

“देशको प्रतिनिधित्व गरेर जाँदै हुनुहुन्छ। प्रतियोगितामा जित्नकै लागि खेलिन्छ, तर हार-जित जे भए पनि राज्यका तर्फबाट खेलाडीलाई दिइने सम्मान घट्ने छैन,” मन्त्री पोखरेलले भने, “अहिले जसरी सम्मानका साथ बिदाइ गरिएको छ, खेल सकेर फर्किएपछि पनि उत्तिकै सम्मानका साथ स्वागत गर्नेछौँ।” उनले खेलाडीको क्षमता अभिवृद्धि, खेल पूर्वाधार र समग्र खेल क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राख्ने प्रतिबद्धतासमेत जनाए।

नेपालबाट २१ खेलमा २११ सदस्यीय टोली सहभागी हुने

आगामी असोज ३ देखि १८ गतेसम्म जापानमा हुने एसियाली खेलकुदमा नेपालबाट २११ सदस्यीय टोली सहभागी हुँदैछ। जसमध्ये २१ वटा खेलका १३५ जना खेलाडी (५७ महिला र ७८ पुरुष) रहेका छन्। बाँकी सदस्यमा २९ जना प्रशिक्षक, १७ व्यवस्थापक तथा प्राविधिक, ६ जना मेडिकल टोली, चार पत्रकारसहित पदाधिकारी, सेभ द मिसन र अन्य अधिकारीहरू समावेश छन्।

नेपालले सन् १९५१ मा भारतबाट सुरु भएको पहिलो एसियाली खेलकुददेखि नै सहभागिता जनाउँदै आएको छ। पहिलो संस्करणमा ९ जना एथलेटिक्स खेलाडी मात्र पठाइएकोमा यसपटक २१ खेलमा प्रतिस्पर्धा हुँदैछ। सन् १९८६ को १०औँ एसियाड (सोल) मा पहिलो पदक जितेयता नेपाल कहिल्यै पदकविहीन हुनुपरेको छैन।

यसपटक कबड्डी खेलमा सबैभन्दा धेरै २४ जना खेलाडीले भाग लिँदै छन्। यस्तै, क्रिकेटमा १५, भलिबलमा १२, उसुमा १०, करातेमा ८, बक्सिङमा ७ तथा जुडो, एथलेटिक्स, टेबल टेनिस र कुस्तीमा ६-६ जना खेलाडी मैदानमा उत्रिनेछन्।

विदेशी प्रशिक्षक तथा वैदेशिक प्रशिक्षणसहित विगत दुई महिनादेखि बन्द प्रशिक्षणमा रहेका खेलाडीहरू खेल तालिकाअनुसार चरणबद्ध रूपमा जापानतर्फ प्रस्थान गरिरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *