एसीसी प्रिमियर कप: बाबर हायातको शतक, हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य
BANGI, MALAYSIA - AUG 31: Pictures from the match between Bahrain and Nepal held at the YSD UKM Oval on August 31, 2026 in Bangi, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council
काठमाडौँ। मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा बाबर हायातको उत्कृष्ट शतकको मद्दतले हङकङले नेपालसामु जितका लागि २६२ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६१ रनको योगफल खडा गरेको हो।
एक समय १३३ रन बनाउँदा ७ विकेट गुमाएर सङ्कटमा परेको हङकङको इनिङ्स बाबर हायात र एहसान खानले उकासेका थिए। दुवै जनाले आठौँ विकेटका लागि १२८ रनको अविजित शतकीय साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्थितिमा पुर्याए।
बाबरले १२७ बल खेल्दै ७ चौका र ७ छक्काको सहयोगमा ११७ रनको अविजित शतकीय इनिङ्स खेले भने एहसान खान ३४ रनमा नटआउट रहे। त्यसअघि हङकङका लागि शाहिद वासिफले ४५ रनको योगदान दिएका थिए।
नेपालका तर्फबाट कप्तान सन्दीप लामिछाने र बलर शेर मल्लले उत्कृष्ट बलिङ प्रदर्शन गरे। सन्दीप लामिछानेले १० ओभरमा ४४ रन खर्चेर ४ महत्वपूर्ण विकेट लिए भने शेर मल्लले १० ओभरमा मात्र २७ रन दिएर ३ विकेट हात पारे।
यसअघि नै लगातार तीन जित हात पारेर सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको नेपालले केही बेरमा २६२ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ सुरु गर्दै छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment