एसीसी प्रिमियर कप: ओमानलाई ८७ रनले पराजित गर्दै नेपाल फाइनलमा
काठमाडौँ। मलेसियाको बायुमास क्रिकेट ओभलमा सम्पन्न एसीसी पुरुष प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा नेपालले ओमानलाई ८७ रनको भारी अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ।
नेपालले प्रस्तुत गरेको १४८ रनको सामान्य लक्ष्य पछ्याएको ओमान नेपाली बलरहरूको कसिलो र घातक बलिङसामु २८.१ ओभरमा मात्र ६० रन बनाउँदा अलआउट भयो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालको सुरुआत अत्यन्तै खराब रहेको थियो। टोलीले ३६ रन जोड्दा शीर्ष क्रमका चार प्रमुख ब्याटर—आसिफ शेख (११ रन), देव खनाल (१३ रन), ईशान पाण्डे (१ रन) र रोहित पौडेल (३ रन) लाई गुमाएको थियो।
त्यसपछि दीपेन्द्र सिंह ऐरी र बसिर अहमदले पाचौँ विकेटका लागि ९३ रनको महत्त्वपूर्ण साझेदारी गर्दै इनिङ्स सम्हालेका थिए। दीपेन्द्रले ७६ बलमा ४ चौकासहित ५१ रन र बसिरले ८८ बलमा ३ चौका र १ छक्काको मद्दतमा ४७ रन जोडे।
तर, यी दुई ब्याटर आउट भएपछि तल्लो क्रम पुनः धराशयी बन्दा नेपाल ४५.४ ओभरमा १४७ रनमै समेटियो। ओमानका लागि जय ओडेदरा र हसनैन शाहले ३–३ विकेट तथा इमरान मोहम्मदले २ विकेट लिएका थिए।
कम योगफल रक्षा गर्ने क्रममा नेपाली बलरहरूले असाधारण बलिङ प्रदर्शन गरे। ६० रनमा ओमानलाई ध्वस्त पार्ने क्रममा कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले ३–३ विकेट हात पारे।
ललित राजवंशी र रोहित पौडेलले २-२- विकेट लिए । ओमानका लागि जतिन्दर सिंहले २५ रन र जितेन रामानन्दीले १३ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्क जोड्न सकेनन्।
यो जितसँगै नेपाल एसीसी पुरुष प्रिमियर कपको फाइनलमा पुगेको छ। नेपालले अब उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेता युएईसँग प्रतिस्पर्धा गर्नेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment