एम्बुलेन्ससहित सर्पले डसेका बिरामीको उपचार जर्गाहा केन्द्रले गर्ने

डिसी नेपाल
६ भदौ २०७६ २२:३२

नवलपरासी । सर्पले डसेका बिरामीहरुको उपचारका लागि प्रहरी युवती तालिम महाविद्यालय जगार्हाले उपचार केन्द्र सञ्चालनमा ल्याएको छ। पश्चिम नवलपरासीको सुनवल नगरपालिका जर्गाहास्थित महाविद्यालयले बुधबारबाट एम्बुलेन्स सहितको उपचार केन्द्रबाट सेवा सुरु गरेको हो।

उपचार केन्द्रको एक भव्य समारोहका विच ५ नं प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुर्दशन बराल, जिल्ला समन्वय समितिका अध्यक्ष शिवशंकर राय, सुनवल नगरपालिकाका नगरप्रमुख भिम बहादुर थापासहितको टोलीले उद्घाटन गरेका थिए।

सो अवसरमा बोल्दै मन्त्री बरालले नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा अमनचयन कायम गर्नुको अलावा जनतासंग प्रत्यक्ष सरोकार राख्ने अन्य क्षेत्रहरुमा पनि निकट रहि कार्यक्रमहरुमा सहकार्य गरेकोमा प्रशंसा गरेका थिए।

नागरिकको स्वास्थ्य जटिलतालाई सरकारले प्राथमिकतामा राखेको भएतापनि वनफडानी, मानव वस्ती विकास आदि कारणले गर्दा सर्पदंशका घटनाहरु बढ्दै गएको भन्दै उनले यस केन्द्रको सञ्चालन तथा निरन्तरताको लागि आवश्यक जनशक्ति, बजेट, औषधी उपकरणहरुको व्यवस्थापनका लागि प्रदेश सरकार प्रतिबद्ध रहको विश्वास दिलाए।

यस्तै महाविद्यालयका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नल प्रसाद उपाध्यायले सुनवल नगरपालिकाको आर्थिक सहयोग र यस महाविद्यालयको अथक मिहिनेत, श्रमदान एवं प्रयासले गर्दा यस सर्पदंश केन्द्रको स्थापना गर्न सफल भएको बताए।

उनले विविध कारणहरुले आवश्यक उपकरणहरु समयमा नै प्राप्ता हुन नसकेकाले संचालन गर्न नसकेको भए तापनि आज उपकरणहरु यस केन्द्रले प्राप्त गरे पश्चात आजको दिनमा सर्पदंश उपचार सेवा शुभारम्भ हुन गएको जसले गर्दा प्रहरी र जनता बिचको सम्बन्ध अझ सुमधुर बनाउनको लागि बल पुग्ने कुरामा विश्‍वस्त रहेको धारणा राखेका थिए।

प्रहरी र समुदायको साझेदारीमा एम्बुलेन्स सहितको सर्पदंश केन्द्र सञ्चालनमा ल्याइएको हो। जिल्लामा सर्पदंशको छुट्टै उपचार केन्द्र थिएन। परासी जिल्ला अस्पतालमा सर्पदंशको सामान्य उपचार हुँदै आएको थियो। उपकरण र दक्ष चिकित्सक नहुँदा सर्पले डसेका बिरामीहरु पूर्वी नवलपरासीको त्रिवेणीस्थित नेपाली सेनाको ब्यारेकमा सञ्चालन गरिएको सर्पदंश केन्द्र र बुटवल जानुपर्ने बाध्यता थियो।

पश्चिम नवलपरासी विषालु सर्पको डसाईबाट प्रभावित जिल्ला भएकाले महाविद्यालयका प्राचार्य नलप्रसाद उपाध्यायको पहलमा केन्द्र स्थापना गरिएको हो। केन्द्र स्थापनाका लागि नगरपालिकाले २५ लाख उपलव्ध गराएको छ।

कुल ३३ लाख लागतमा निर्माण भएको केन्द्रमा स्थानीय र महाविद्यालयकै प्रहरीको ८ लाख बराबरको जनश्रमदान छ। केन्द्रबाट सर्पदंशसँगै स्थानीयको निमित उपचार सेवा पनि सुरु गरिएको महाविद्यालयका प्राचार्य उपाध्यायले जानकारी दिए।

एक कार्यक्रमको आयोजना गरी प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल र सुनवल नगरपालिकाका नगर प्रमुख भीमबहादुर थापाले संयुक्त रुपमा उपकरण र औषधि उपलव्ध हस्तान्तरण गरेपछि सेवा सुरु गरिएको हो।

प्रदेश सरकार र नगरपालिकाले कार्डियाक, इसिजी लगायतका ६६ प्रकारका उपकरण र औषधि उपलब्ध गराएका छन्। उपचारका लागि महाविद्यालयकी निरीक्षक डा.सुष्मा केसीसहितको पाँच जना स्वास्थ्य टोली रहेको छ।

कार्यक्रममा सुनवल नगरपालिका नगर उपप्रमुख दधिराम अर्याल, र पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनी, सुनवल ११ का वडाध्यक्ष देवीलाल डुम्रे, ५ नं. प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद गिरी, एन्फाका उपमहासचिव तथा रामनगर एकेडेमीका अध्यक्ष प्रकाश पंगेनीलगायतले सर्पदंश उपचार सेवालाई प्राथमिकता दिएर काम सुरु गरेकोमा एसएसपी नलप्रसादलाई धन्यवाद दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *