पञ्चदान महापर्व भदौ ११ मा हुने
काठमाडौं। बौद्धधर्मावलम्बीको सबैभन्दा ठूलो पर्व पञ्चदान महापर्व यही भदौ ११ गते भव्यरुपमा आयोजना गर्ने सामूहिक पञ्चदान कार्यक्रम मूलसमिति २०७६ ले जनाएको छ। ‘परम्परागत बौद्ध नखः पञ्चदान भव्यताका साथ मनाऔँ, सांस्कृतिक परम्परा संरक्षण गरेर हाम्रो पहिचान जोगाइ राखौँ’ भन्ने मूलनाराका साथ सामूहिक पञ्चदान कार्यक्रम आयोजना गरिने भएकोे छ।
समितिका संयोजक मञ्जुश्रीरत्न बज्राचार्यका अनुसार गुरु बज्राचार्य, गुरु माँ, शाक्य भिक्षुको वृहत सहभागितामा काठमाडौँको ठमेलस्थित भगवान बहालबाट बिहान ८ः०० बजे पर्व शुरु हुने छ। सत्ययुगमा दिपकर बुद्धलाई पहिलो पटक पञ्चदान गरिएको दिनको सम्झनामा भदौ ११ का दिन हरेक वर्ष पञ्चदान पर्व मनाउने नेवार समुदायमा प्रचलन रहँदै आएको छ। बज्राचार्य तथा शाक्य भिक्षुलाई भगवान बुद्धका रुपमा स्वागत गर्दै पञ्चदान दिने र आशिर्वाद ग्रहण गर्ने चलन छ।
कामपाका प्रमुख, विभिन्न वडाका वडाअध्यक्ष तथा सदस्यको पनि सहभागिता हुने सो कार्यक्रममा विभिन्न ४५ वटा बहाल, बही, चोक सडक तथा गल्ली हुँदै बेलुका ५ः३० बजे मुसुँबहालस्थिति ब्रम्हटोलमा पुगेर समापन हुनेछ।
काठमाडौँका बौद्ध विहारमा भगवान बहा, झवाबहा, महाबु बहा, इटुँबहाल, श्रीखण्डमूल महाविहार, लायकुबहा, सबल बहा प्रमुख छन् भने सो दिन श्रीघ विहार नघलमा जलपान, इटुँबहालमा क्षीर भोजन तथा मुसुँ बहालमा क्षीर भोजन गरिने व्यवस्था गरिएको समितिले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment