पाल्पाको तानसेनमा भगवती रथयात्रा सम्पन्न

डिसी नेपाल
८ भदौ २०७६ ९:०४

पाल्पा । पाल्पाको तानसेनमा शनिबार ऐतिहासिक रणउजिरेश्वरी भगवतीको रथयात्रा निकालिएको छ। नेपाल-अङ्ग्रेज युद्धमा नेपाली फौजले विजयी हासिल गरेको सम्झनामा प्रत्येक वर्ष रथयात्रा गर्ने चलनअनुसार भगवतीको जात्रा निकालिएको हो।

श्री ७ रणउजिरेश्वरी भगवतीको २०१औँ विजयोत्सवका रुपमा पाल्पामा रथयात्रा गरी तानसेन बजार परिक्रममा गरिएको हो। विसं १८७६ मा बुटवलको जितगढी किल्लामा नेपाली फौजले अङ्ग्रेजलाई पराजित गर्न सफल भएको सम्झनामा रथयात्रा गर्ने चलन रहेको छ।

युद्वमा जानुअघि कर्णेल उजिरसिंह थापाले तानसेनको मध्यभागमा रहेको भगवती देवीको पाउ छोएर युद्वमा विजयी भएमा मन्दिर बनाई सिन्दूरजात्रा गर्नेछु भनेर भाकल गरेको इतिहास छ। भाकलपछि कर्णेल थापाको नेतृत्वले विजय हासिल गरेपछि गजुरसहितको तीनतले मन्दिर निर्माण गरिएको थियो।

प्रत्येक वर्ष भाद्र कृष्णपक्षको नवमीका दिन भगवती जात्रा निकालिन थालिएको मन्दिरका अध्यक्ष राजेश्वर उदयले बताए। दिउँसो १२ः४५ बजे भगवती मन्दिरमा तीनपटक रथ घुमाइएको थियो । रथ मन्दिर घुमाएर त्यस क्षेत्रबाट बाहिर ल्याइएको हो। नेपाली सेनाले मन्दिरबाट रथ निकाल्दा बढाई दिने चलन छ।

सेनाले तोप पड्काएपछि रथ उचालिएको हो । तानसेनको पाल्पा दरबार सङ्ग्राहलय, जिल्ला प्रशासन, जिल्ला प्रहरी, नेपाली सेनाको गणमा पूजा गरिएको थियो । भगवतीको रथलाई नगरवासीको जयजयकारसँगै बजार परिक्रमा गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष उदयले बताए। रथयात्रामा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव केदार अधिकारी, रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, नेपाली सेनाका प्रधानसेनापति सहभागी थिए।

केन्द्रीय तथा प्रदेश सांसद, स्थानीय सरकार प्रमुख, प्रतिनिधि, जिल्लाका नेता, उद्योग वाणिज्य सङ्घ, व्यापार सङ्घ, विद्यार्थी, विभिन्न टोल विकास समितिका सदस्यलगायत भगवतीको रथयात्रामा सहभागी हुँदा थप उत्साह ल्याएको थियो। भगवती रथयात्रा मनाउन पाल्पालीहरु जिल्ला बाहिर गएर बसोबास गर्नेहरु यतिबेला तानसेन आएका छन् । जात्रामा भाकलअनुसारको कुखुरा, हाँस, बोका, राँगा आदि बलि दिएर पूजा गरिन्छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *