घुस लिएको अभियोगमा अधिकृत अमात्यविरुद्ध विशेष अदालतमा मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, मकवानपुरका अधिकृत चन्दनकुमार अमात्यविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
उद्योग दर्ताका लागि प्रारम्भिक वातावरणीय मूल्याङ्कन (आइइई) स्वीकृत गर्ने प्रयोजनाका लागि विभिन्न बहाना गरी अमात्यले रु ५० हजार घुस मागेको आरोप लागेको छ।
आयोगले बिगो असुल गरी कानूनअनुसार कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
यस्तै आयोगले आज पूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र सङ्काय डिनको कार्यालय विराटनगरमा कार्यरत मुख्य अधिकृत गिरिराज कोइरालाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
काठमाडौँका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीको समस्या समाधान गरिदिने भन्दै कोइरालाले रु छ लाख ७५ हजार बराबरको घुस माग गरेको भन्ने आरोप लागेको छ।
विद्यार्थीले जरीवानास्वरुप तिर्नु बुझाउनुपर्ने रकम मिलाइदिने भन्दै घुस मागेको पुष्टि भएको आयोगले दाबी गरेको छ। आयोगले बिगो असुल गरी हदैसम्मको कारवाहीको माग गर्दै आज मुद्दा दायर गरेको हो।
आयोगले जिल्ला प्रशासन कार्यालय बारामा कार्यरत नायब सुब्बा सनोज महत्तोविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । पुरानो मुद्दाको पेशी चढाई चाँडै मुद्दा फैसला गरिदिने भन्दै एक सेवाग्राहीसँग महत्तोले १० हजार घुस माग गरेको आरोप लागेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment