चाडपर्व नजिकिँदै गर्दा झिलिङ्गा बनाउन भ्याइनभ्याई

डिसी नेपाल
१० भदौ २०७६ ८:२३

तनहुँ । व्यास नगरपालिका–३ देउराली नगरका महिला चाडपर्व नजिकिँदै गर्दा झिलिङ्गा (चामलको पिठोबाट बनाइने परिकार) बनाउन व्यस्त छन्।चाडपर्वको समयमा झिलिङ्गा बनाउन नभ्याइने भएकाले असार–साउनदेखि नै झिलिङ्गा बनाउन थालिन्छ।

विसं २०७१ मा देउराली आमा समूहका पाँच सदस्य मिलेर रु एक लाख २० हजार सङ्कलन गरी झिलिङ्गा उत्पादन गर्ने कार्यलाई अहिलेसम्म निरन्तरता दिँदै आएको सञ्चालक सदस्य लीला थापाले जानकारी दिईन् । दशैँ तिहारको समयमा बढी बिक्री हुने र त्यतिबेला उत्पादन गर्न नभ्याइने भएकाले अहिलेबाट नै बनाउन शुरु गरिएको उनले बताए ।

“खेर गइरहेको समयको सदुपयोग गरी फुर्सदको समयमा झिलिङ्गा बनाउने गरेका छौँ”, उनले भने । पछिल्लो समय यस क्षेत्रका महिला आत्मनिर्भर बन्दै गएका छन्। गत वर्ष खर्च कटाएर एक सदस्यको भागमा रु ५० हजार हात परेको उनले जानकारी दिए । कतै पनि रोजगारीको अवसर नपाएपछि देउरालीनगरका पाँच महिला मिलेर सामूहिक पेशा थालेको उनले बताईन् ।

बीस हजारभन्दा बढी झिलिङ्गा भण्डारण गरी राखेको अर्का सञ्चालक सदस्य शान्ताकुमारी श्रेष्ठले बताउनुभयो । “बिहानको ४ः०० बजे नै पाँचै सदस्य झिलिङ्गा बनाउन आउने गरेका छौँ”, उनले भने, “कोही झिलिङ्गा बनाउने, सुकाउने तथा कोही भने व्यवस्थापन गर्नेलगायतका काम बाँडेर गर्ने गरिएको छ।”

चाडपर्वबाहेक अन्य समयमा पनि मानिस भातखुवाइ, विवाह, व्रतबन्ध, कोशेली लान र केटाकेटीलाई खाजाका रूपमा प्रयोग गर्न झिलिङ्गा लिन आउने गरेका छन्। प्रतिगोटा रु १२ देखि ५० सम्मको झिलिङ्गा बिक्री गर्ने गरेको सदस्य श्रेष्ठले बताए । गत वर्ष दुई महीनामा रु पाँच लाखभन्दा बढीको झिलिङ्गा बिक्री गरेको उहाँले जानकारी दिए ।

उत्पादन गरेका झिलिङ्गा वीरगञ्ज, चितवन, नेपालगञ्ज, धादिङ र काठमाडौँलगायतका क्षेत्रबाट व्यापारी लिन देउरालीनगर आउने गरेका छन् । लोप हुने अवस्थामा पुगेको झिलिङ्गाको संरक्षण गर्दै महिलाले आयआर्जनको स्रोत बनाएर समाजमा उदाहरणीय काम गरेका नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *