तीज संस्कृति : हराउँदै नारी बेदनाका गीत

डिसी नेपाल
१२ भदौ २०७६ १३:०६

हरेक समाजका आफ्ना आफ्नै रीति रिवाज, धर्म र संस्कृति हुन्छन्। यसैले समाजमा विविधता कायम भएको छ। र, यही विविधता नै समाजको सौन्दर्यता पनि हो। एउटै फूलको बगैंचा भन्दा थरिथरिका फूल फूलेको बगैंचा नै बढी सुन्दर देखिन्छ।

त्यसै गरी सास्कृतिक विविधता भएको समाज नै एउटै मात्र संस्कृति भएको समाज भन्दा बढी सुन्दर देखिन्छ। यही विविधताले भरिएको समाजमा अनेक धर्मावलम्बी मानिस बस्दै आएका छन्। र, त्यही धर्मसँग जोडिएर सस्कृति र रीति रिवाज पनि बन्दै र पालन हुँदै आएका छन्।

नेपाली महिलाहरुको महान पर्व तीज नेपालीका घर आँगनमा आइसकेको छ। तीज आउनु महिनौं अघिदेखि महिलाहरु भेला भइ दर खाने कार्यक्रम चलिरहेको छ।

हिन्दु महिलाको महान पर्व तीज धार्मिक आस्था र सांस्कृतिक महत्वका साथ मनाइने भएपनि आधुनिकताका नाममा नचाहिँदो तडक भडक पार्टी प्यालेसदेखि पाँचतारे होटलसम्म दर खाने, ख्वाउने र बहुमूल्य वस्तुको प्रदर्शनी गर्ने होड चल्न थालेपछि तीज पर्वकोे वास्तविक मौलिकता हराउन थालेको छ।

पछिल्ला केही वर्षदेखि विभिन्न संघसंस्था, राजनीतिक दलहरु र तिनका भातृ संगठनको आयोजनामा सामूहिक रुपमा दरखाने अभियान चलिरहेको छ। कुनै पनि चाड पर्व आफ्नो हैसियत अनुसार मनाउनुपर्छ। धर्म संस्कृतिको सम्वद्र्धन र प्रवद्र्धन गर्नुपर्छ। केही हदसम्म समय क्रम अनुसार परिवर्तन पनि गर्नुपर्छ। तर पछिल्लो समय तीज भड्किलो भन्दै गएको छ।

हुने खानेले पार्टी प्यालेसदेखि पाँच तारे होटलसम्म तीजको दर खाने र वैभव देखाउन चलनले आर्थिक अवस्था कमजोर भएका मानिसलाई यसले प्रत्यक्ष रुपमा प्रभावित बनाएको छ। यसकारण कुनै पनि चाड पर्व धर्म संस्कृतिको रुपमा मनाउनुपर्छ, यसलाई देखासिखीको रुपमा मनाउनु हुँदैन।

समयक्रमसँग नेपालमा तीज मनाउने चलन फेरिएको छ। सांस्कृतिक र पारिवारिक महत्व बोकेको तीज मनाउने क्रममा आएको परिवर्तनले तीजमा सस्तो र अभद्र माया प्रेमको विषयले ठाउँ पाएको छ। तीजका पुराना लोकभाका र सन्देश आधुनिकतासँगै हराएको छ। तीज आउनुभन्दा महिनौं अघिदेखि यसको सांगीतिक माहोल तयार भइसकेको हुन्छ।

धार्मिक र सांस्कृतिक मौलिकतालाई चटक्कै बिर्सेर तीजलाई समयानुकूल परिस्कृत गर्ने नाममा तीज आउनु महिनौ अघिदेखि पार्टी प्यालेस र होटलमा महँगा गरगहना कपडा प्रदर्शनी गर्ने र टिकट बिक्री गर्ने प्रचलन बढेको छ।

पार्टी प्यालेस घर टोल र सडक तीजमय देख्न पाइन्छ दिदीबहिनीहरु महँगा पहिरन र गहनामा सजिएर दर खान हिँड्ने र डिस्कोमा जस्तै जथाभावी उफ्रिने प्रचलन हावी भएको छ। हिजोआज तीजमा गाइने मिठा सामाजिक सन्देश बोकेका र गम्भीरलय तथा भाव भएका गितहरु सुनिन छोडेका छन्।

लेखिका

केटा केटी अमर्यादित पाराले नाचिरहेका दृश्यहरुले टेलिभिजनका पर्दाहरु र युटुयुब रंगिएका छन्। सामाजिक सञ्जालका भित्तामा महँगा गहना र महँगा भेषभुषलाई प्राथमिकता दिएर रंगिएका देखिन्छन्। आर्थिक हिसाबले पनि तीज झन खर्चिलो र भड्किलो फेसन अस्वस्थकर खानपान आदिले एकातर्फ सामाजिक जनजीवनमा नकारात्मक प्रभाव पार्छन् भने अर्कोतर्फ फजुल खर्च र उपभोग्य प्रवृत्तिको विकासलाई सहयोग पुर्याइरहेको छ।

तीज मनाउने क्रममा हुनेखाने महिलाहरुले हुँदाखाने महिलाहरुलाई पछाडि पारेका छन्। अर्थात् तीजमा आएको विकृति र भड्किलो फेसनले कमजोर आर्थिक हैसियत भएका महिलाहरुले तीज मनाउन नसकिरहेको स्थिति छ ।

केही वर्ष अघिसम्म तीजलाई महिलाहरुले आफनो विशिष्ट चाडका रुपमा मनाउँथे। आफना पिर, व्यथा, वेदना अनि सुख दुखलाई गीत संगीतका माध्यमबाट अभिव्यक्त गर्थे। तीजका गितहरुमा महिलाहरु एकत्रित भएर नाच्थे एकापसमा गाउँथे तर अहिले त्यस्ता गित सुन्न पाइँदैनन्।

समयाक्रमसँगै तीजको संस्कृति विकृतिमा परिणत भएको छ। तीजका गितहरु रत्यौली र झ्याउरे जस्ता भएका छन महिनौं दिन देखि तीजका नामा दर र दारु खाने परम्पराले संस्कृति जगेर्ना गर्न सक्दैन।

त्यसैले तीजलाई नाच्ने र गाउने चाडको रुपमा मात्र नलिई परम्परा र संस्कृति धान्ने चाडका रुपमा लिनु उपयुक्त हुन्छ। हाम्रा परम्परा संस्कार र संस्कृतिमा हाम्रो मोह बढेको छ। आफनो माटोको मायाले होला जुन चाड पनि हामीले अत्यन्तै रमाइलोको साथ मनाउने गरेका छौं। महिलाहरुले मात्र मनाउने प्रमुख चाड हो तीज।

आजभन्दा तीन वर्ष अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भड्िकलो र खर्चिलो गरि तीज मनाउनेलाई सामाजिक सुधार ऐन अनुसार कारबाही गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो।

त्यसयता केही सुधार पनि नभएको होइन् । तरपनि सम्बन्धित निकायले त्यस कार्यलाई निरन्तरता दिन नसकेकाले तीज पुनः भड्किलो र खचिलो बन्दै गईरहेको पाइन्छ ।

सर्वसाधारण परिवारमा पार्ने आर्थिक भार र मानसिक असरलाई ध्यानमा राखेर चार्डपर्व भडकिलो र खर्चिलो नगरीकन मनाऔ । सबैलाई तीजको शुभकामना ब्यक्त गर्दछु ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *