पथप्रदर्शक र भरिया विना पदयात्रा गर्छन् पर्यटक – Dcnepal

पथप्रदर्शक र भरिया विना पदयात्रा गर्छन् पर्यटक

फाइल फोटो


चिप्लेढुङगा । नेपाल घुम्न आएका विदेशी पर्यटक एक्लाएक्लै विभिन्न पदमार्गमा आफूखुशी पुग्ने गरेका छन्। पर्यटकमाथि खासै निगरानी नहुँदा र लचिलो नीति रहँदा पर्यटकमाथि विभिन्न घटना घट्ने गरेका छन् भने उनीहरुबाट पनि अवाञ्छित गतिविधिहरु हुने गरेका छन्।

नेपालको समृद्धिको आधार पर्यटन भनेर सरकारले विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरु अघि सारेको छ। यद्यपि, पर्यटक स्वयंबाट विना पथप्रर्दशक र भरिया विभिन्न ठाउँ पुग्दा त्यसले सकारात्मक सन्देश प्रवाह गर्न भने नसकेको पथप्रदर्शकहरु बताउँछन्।

पर्यटकका लागि पोखरा एउटा उत्कृष्ट गन्तब्यमा पर्ने गरेको छ। पर्यटक विशेष गरी पोखराको प्राकृतिक सुन्दर छटाहरुको दृश्यावलोकन गर्न र साहसिक खेलहरुमा रमाउन आउने गरेका छन्। नेपाल आउने पर्यटकमध्ये ७० प्रतिशत विभिन्न पदयात्रामा पुग्ने गरेको ट्रेकिङ्ग एजेन्सिस एशोसियशन नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलको भनाइ छ।

टान पश्चिमाञ्चलको तथ्याङ्क अनुसार टिम्स (ट्रेकर्स इमफर्मेशन मानेजमेन्ट सिस्टम) मार्फत आर्थिक वर्ष २०७५÷७६ मा २२ हजार ३८४ तेस्रो मुलुकका पर्यटक पथप्रर्दशक र भरिया लिएर पदयात्रामा गएका थिए। सार्क मुलुकबाट ग्रुप टिम्समा जाने २७ हजार ६६८ जना रहे तर, यिनीहरु मुक्तिनाथ दर्शन गर्न गाडीबाट जाने भएकाले पथप्रदर्शक र भरियाको जरुरत पर्दैन। यो अवैधानिक भएको टान अध्यक्ष भुजेलको भनाइ छ । तेस्रो मुलुकको लागि ग्रुप टिम्स १ हजार र सार्क मुलुकको लागि ३ सय रुपैयाँ लाग्छ।

आव २०७५÷७६ मा सार्क मुलकबाट ४ हजार २७८ र अन्य मुलुकबाट २० हजार ५७३ पर्यटक गरी जम्मा २४ हजार ८५१ (पथप्रदर्शक र भरिया बिना) पदयात्रा गरेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको तथ्याङ्क छ। नेपाल पर्यटन बोर्डबाट तेस्रो मुलुकका पर्यटन पदयात्रा जानेले २ हजार र सार्क मुलुकको पर्यटकले ६०० रुपैयाँ तिर्नु पर्छ।

अन्नपूर्ण संरक्षण क्षेत्रबाट आव २०७५÷७६ मा ७४ हजार ३४३ जनाले प्रवेशाज्ञा लिएको देखिन्छ। यी तथ्याङ्कलाई नियाल्दा पर्यटक पथप्रदर्शक र भरिया लिएर जाने झण्डै २३ हजार मात्रै देखिन्छ भने ५० हजार भन्दा बढी पथप्रदर्शक र भरिया विना गएको भेटिन्छ।

पर्यटन मन्त्रालय विदेशी पर्यटकको सवालमा निकै लचिलो हुँदा यो समस्या देखिएको अध्यक्ष भुजेल बताउँछन्। उनी भन्छन्, ‘आफ्नो देशको प्राकृतिक, भौगोलिक र सांस्कृतिक अवस्थालाई हेरेर सोही अनुसारको नीति बनाउनु पर्छ र त्यसको कार्यान्वयनमा सरकार लाग्नुपर्छ।’ अर्कोतर्फ पर्यटन मन्त्रालय, पर्यटन बोर्ड र टानबीचको त्रिपक्षीय सम्झौता भए पनि त्यसको कार्यान्वयन हुन नसक्दा यस्तो स्थिति देखापरेको हो।

विदेशी पर्यटकलाई समेत पथप्रदर्शक लिएर जानुपर्ने अनिवार्य नियम नभए पछि पर्यटक आफूखुशी हिँड्ने गरेको उनको भनाइ छ। भुजेल भन्छन्, ‘विदेशी पर्यटक पथप्रदर्शक विना हिँड्दा जोखिम बढेको छ । पर्यटक एक्लै हिँड्ने गर्दा ट्र्याक आउट हुने गरेको छ। यस्तो अवस्थामा पर्यटकका बारेमा जानकारी लिन समेत कठिन हन्छ।’ टान पोखराले गण्डकी प्रदेशको बेंसीशहरको लमजुङ, धम्पुस, बिरेठाँटी र म्याग्दी तातोपानी टिम्स काउण्टरबाट पदयात्रीको सूचना सङ्कलन गर्छ ।

पर्यटक प्रहरी प्रमुख लेकसाइडका भगवती तिमिल्सिना पर्यटकहरु आफूखुशी एक्लाएक्लै हिँड्दा हराउने र विभिन्न समस्यामा पर्ने गरेको बताउँछन्। उनका अनुसार गत आवमा मात्रै पथप्रदर्शक र भरिया विना पदयात्रामा गएका सात पर्यटकलाई विभिन्न ठाउँबाट उद्धार गरिएको थियो । यस अलावा ट्रेकिङ व्यवसायी सङ्घले पनि उद्धार गर्ने गर्छ । नेपालको मौसम र भौगोलिक अवस्थालाई बेवास्ता गरी केवल नक्शाका आधारमा मात्र हिँड्दा जोखिम हुने तिमिल्सिनाको भनाइ छ।

नेपालको भौगोलिक अवस्थिति र मौसमको अवस्थाका बारेमा विदेशी पर्यटक जानकार नहुने र त्यसले समस्या निम्त्याउने झण्डै २० वर्षदेखि ट्रेकिङ व्यवसायमा आवद्ध रहँदैआएका थ्री सिस्टर्स एडभेन्चर ट्रेकिङका सञ्चालक लक्की कार्की बताउँछन्। केही समय अघि सगरमाथाको चुचुरो र तिलिचो ताल पुग्ने विदेशी नागरिकले नाङ्गो तस्वीर खिचेर सामाजिक सञ्जालमा राखिदिँदा नेपालको धर्म, संस्कृति र कानूनको खिल्ली उडाउने काम भएको प्रतिक्रिया उनले दिए। पथप्रदर्शक विना जाने पर्यटकबाट हुने यस्ता अवाञ्छित गतिविधि रोक्न पर्यटन नीतिमै परिर्वतन आवश्यक रहेको कार्कीको भनाइ छ।

पोखरामा अहिले झण्डै एक हजार ४०० जना अनुमति प्राप्त पथप्रदर्शक छन् भने रोजगारी पाउने ३०० को हाराहारीमा मात्रै छन्। युनियन अफ ट्रेकिङ ट्राभल ¥याफ्टिङ एयरलाइन्स वर्कर युनियन (युनिट्राप) कास्कीका अध्यक्ष विजय केसीका अनुसार एसएलसी उत्तीर्ण र दुई वर्ष ट्रेकिङ्ग क्षेत्रमा काम गरेका अनुभवीलाई नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानबाट प्रारम्भिक चरणमा एक महिने पथप्रदर्शक तालीम प्रदान गर्ने गर्दछ । यसरी तालीम प्राप्त गरेकालाई पर्यटन कार्यालयले अनुमतिपत्र दिने गरेको छ ।

विगत २१ वर्षदेखि पथप्रदर्शकको काम गर्दैआउनु भएका पदयात्री व्यवसायी चन्द्रबहादुर भुजेल दुुई वर्ष अगाडिको घटना स्मरण गर्दै भन्छन्, ‘अन्नपूर्णको दानाक्युमा एक ब्रिटिश महिला एक्लै पदयात्रामा भेटिइन्। उनी गुगल म्यापको सहारामा पदयात्रा गर्दै थिइन्। पन्ध्र मिनेट अगाडि हिँडेकी उनी बाटोमा पहिरो गएको रहेछ । अर्को बाटोको विकल्प नदेखेपछि त्यही पहिरोबाट जाँदा लडेर झण्डै २०० मिटर तल पुगेकी रहिछिन् । घाइते अवस्थामा रहेकी उनले बजाएको सिठ्ठीको आधारमा उद्धार भयो।’

अधिकाँश पर्यटक केही रकम बढि खर्च गर्न हिच्किचाउने गर्छन् र टे«करले पालना गर्नुपर्ने सामान्य नियम पनि पालन नगरी देशका कुना कुना पुग्छन्। यस्ता गतिविधिलाई रोक्न राज्यले निश्चित ठाउँ बाहेक अन्यत्र पदयात्रा गर्दा अनिवार्य पथप्रदर्शक लाने नियम बनाउन आवश्यक रहेको उनी बताउँछन्।

ट्रेकिङ्गको सिलसिलामा पथप्रदर्शक र भरिया दुर्घटनामा पर्नसक्ने पक्षलाई ध्यान दिएर टान पश्चिमाञ्चलले बीमाको व्यवस्था गरेको बताउनुहुन्छ टानका महासचिव जीवनराज सापकोटा। उनका अनुसार वर्षमा २५ जना ट्रेकिङ्ग गाइड र ५० जना भरियाको १० लाखसम्मको दुर्घटना बीमाको व्यवस्था भइआएको छ। पर्यटक स्वयंले आफ्नो सुरक्षाका लागि पथप्रदर्शक लानु उपयुक्त हुने उनको भनाइ छ।रासस

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो