नेपाल र दक्षिण कोरियाले जुगल हिमालको पहिलो आरोहण गर्दै

डिसी नेपाल
२३ चैत २०८० २२:२१

काठमाडौ। नेपाल र दक्षिण कोरियाको संयुक्त टोलीले जुगल हिमाल (६५९१ मिटर) को पहिलो आरोहण गर्नेभएको छ।

उक्त प्रयोजनका लागि तीन नेपाली र सात जना कोरियाली नागरिक सहभागी टिम शनिबार त्यसतर्फ जाने नेपाल पर्वतारोहण संघले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो। सिन्धुपाल्चोक जिल्लास्थित जुगल हिमालको पहिलो आरोहण नेपाल र कोरियाबीच दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा गर्न लागिएको हो। जुगल काठमाडौंबाट सबैभन्दा नजिक पर्ने हिमालसमेत हो।

नेपाल पर्वतारोहण संघ, नेपाल पर्यटन बोर्ड र सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको पहलमा उक्त टोली भोलि चैत २४ गने त्यसतर्फ प्रस्थान गर्ने भएको हो। संघका महासचिव मोहन लम्सालले जुगल हिमाल आरोहणको माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धनमा योगदान गर्ने विश्वास व्यक्त गरे। उनले पर्यटन कूटनीतिसँग पनि जोडिएकाले यो आरोहणलाई निकै महत्वका साथ हेरिएको उल्लेख गरे।

विसं २०७९ चैत २८ गतेको नेपाल सरकार (मन्त्रिपरिषद्को बैठक)ले सिन्धुपाल्चोकस्थित जुगल हिमाल आरोहणका लागि खुला गर्ने निर्णय गरेको थियो। जुगल हिमाल क्षेत्रका पाँच वटा हिमाल आरोहणका लागि खुला गरिएको छ। ‘यो आरोहण नेपाल र दक्षिण कोरियाबीच दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको उपलक्ष्यमा समेत गर्न लागिएको छ’ जारी विज्ञप्तिमा भनिएको छ।

आरोहण टोलीमा कोरियाली विख्यात आरोही तथा नेपालका मानार्थ नागरिक अमहोङ गिलले नेतृत्व गर्नेछन् भने नेपालको तर्फबाट कीर्तिमानी आरोही तथा संघका प्रथम उपाध्यक्ष दावा याङ्जुम शेर्पाले नेतृत्व गर्ने जनाइएको छ। यो टोलीले १३ वैशाख २०८१ मा चुचुरो चढी काठमाडौं फर्कने योजना बनाएको छ। यो आरोहणलाई नेपाल सरकार, पर्यटन बोर्डले समेत सहयोग गर्ने जनाइएको छ। यसअघि सरकारले उक्त हिमाल आरोहणमा लाग्ने रोयल्टी दस्तुर मिनाहा गरेको थियो।

आरोहण दललाई शनिबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको राष्ट्रिय झन्डा हस्तान्तरण गरी बिदाइ गर्ने कार्यक्रम रहेको संघका महासचिव लम्सालले बताए। हिमाल आरोहणसँगै ५० जना कोरियाली पदयात्री जुगल हिमाल क्षेत्रको पदयात्रामा जाने विज्ञप्तिमा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *