केन्द्रका मन्त्रीहरुले तल अधिकार दिएनन्, आफ्नो मुठ्ठीमा राख्न खोजे : दिनानाथ शर्मा

डिसी नेपाल
१४ भदौ २०७६ १७:३४

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले संघीयताको बुझाईमा संविधान जारी गर्दाका सहयात्री दलहरुबीच नै एकरुपता कायम नभएको गुनासो पोखेका छन्।

उनले भने, ‘संघीयताको बारेमा हामीहरुबीच एकरुपता भएको छैन् ।’ शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता शर्माले अझैपनि शिक्षा, स्वास्थ्यलगायतका महत्वपूर्ण क्षेत्रमा संघीयता कार्यान्वयनमा नगएको गुनासो पोखे । उनले भने, ‘अहिलेपनि थुप्रै मन्त्रालयहरु संघीयताको मर्म र भावनाअनुसार अघि बढेका छैनन्, संघीयता कार्यान्वयन गर्नेतर्फ कानुन तथा विद्येयकहरु पेश भएका छैनन् ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले संविधान र मुलुकको व्यवस्था नयाँ भएपनि काम गर्ने शैली पूरानै भएको र ऐन, कानून र विद्येयकहरु नयाँ आउन नसकेको टिप्पणी गरे । उनले भने, ‘हाम्रो व्यवस्था सर्वोत्कृष्ट छ । तर, संविधान कार्यान्वयनमा समस्या छ ।’

शर्माले केन्द्रका मन्त्रालयहरुले संघीयता कार्यान्वयन गर्नेगरि उपयुक्त कानून तथा ऐन बनाउन समस्या रहेको कुरा पटक–पटक सुनाए ।

शमाले वर्तमान सरकार असफल नभएको जिकिर गरे । उनले भने,‘यो सरकारले सर्बोत्कृष्ट काम गर्छ । हामीले नसके भोलि कांग्रेस र राजपाका साथीहरु सरकारमा आउने हो । दलीय प्रणालीमा यो नौलो कुरा होईन् ।’ उनले केन्द्र सरकारका मन्त्रीहरुले प्रदेश तथा स्थानीय तहलाई अधिकार दिनको लागि हिचकिचाएको पनि आरोप लगाए ।

उनले भने, ‘संघका मन्त्रीहरुले तल अधिकार दिनको लागि अहिले हिचकिचाउने काम गर्नुभएको छ । तल अधिकार दिनको लागि कन्जुस्याँई गर्नुहुँदैन् । अधिकार जति आफ्नो मुठ्ठीमा राखेर बस्नुहुँदैन । यसरी कसरी देश समृद्ध हुन्छ ?’

उनले आफूहरुले संघीयताविरोधी विद्येयकहरु नल्याउनको लागि संघका मन्त्रीहरुलाई निर्देशन दिएको सुनाए । उनले वर्तमान सरकारले देश र जनताको हितमा काम गर्नेमा आफू विश्वस्त रहेको सुनाए ।

पूर्वमन्त्री समेत रहेका शर्माले व्यवस्था र संविधानको विरोध गर्न नपाईने जिकिर गरे । उनले भने, ‘सरकारको कामकारबाहीलाई विरोध गर्न पाईन्छ, आलोचना गर्न पाईन्छ । तर, व्यवस्थाको विरोध गर्न पाईँदैन् ।’

शर्माले देशमा पछिल्लो समय समाजलाई विकृत बनाउनको लागि केही परिवर्तनविरोधी शक्तिबाट गलत कामहरु भैरहेकोतर्फ सरकारको ध्यानाकार्षण गराए । उनले भने, ‘गौहत्या जो अहिले भएको छ, यसमा हाम्रो दुःख छ ।’ उनले दलहरुबीच राष्ट्रिय एजेण्डामा सहमति हुनुपर्ने धारणा राखे ।

उनले मधेशको मुद्दा सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘मधेशको मुद्दा सम्बोधन गर्नुपर्छ । यसको लागि संविधानलाई परिस्कृत गर्नुपर्छ ।’  शर्माले मिडिया काउन्सिल विद्येयक पनि आफुहरुले व्यापक सुधार गरेर ल्याएको सुनाए । उनले भने, ‘हामीले यसमा प्रशस्त संशोधन गरेका छौं । यसलाई समृद्ध बनाएका छौं । यो विद्येयक सबैको सहमतिमा आएको छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *