‘ओलीको फिल्म फ्लप भयो, तित्राजस्तो कराउनुभन्दा भ्रष्टाचारीलाई कारबाही गर्नुहोस्’

डिसी नेपाल
१४ भदौ २०७६ १८:५४

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद डा. चन्द्र भण्डारीले सरकार गठन हुनुभन्दा अघि केपी शर्मा ओलीको अभिनय रहेको फिल्म चलेको र त्यही फिल्मका कारण नेकपाले दुई तिहाई बहुमत हाँसिल गरेको सुनाए । उनले भने, ‘अहिले दुई तिहाई बहुमत प्राप्त ओली सरकारको फिल्म फ्लप भयो।’

समाजलाई भड्काउनको लागि होली–वाईन प्रकरण भएको सुनाउँदै उनले सरकारको आलोचना गरे। भण्डारीले भने, ‘बुद्धको मुर्ती तोडफोडको घट्ना भयो। नेपालमा के हुँदैछ? होली वाईन प्रकरणमा हाम्रा जनप्रतिनिधिहरुलाई लम्पसार बनाईयो ।

अहिले तीन, चार सय गाईलाई भीरबाट खसालेर मारिएको छ । जसले गरेपनि, यो मुलुकमा द्वन्द्व फैलाउन खोज्ने षड्यन्त्र हो।’

अहिले मुलुकको प्रणालीमाथि नै औंला ठड्याउने षड्यन्त्र भैरहेको उनको चिन्ता छ। उनले भने, ‘हामीले हाम्रो देशको क्षमता आँकलन गर्न सकेनौं। ९, १० खर्बको राजश्व उठ्छ, तर देशका तलदेखि माथिल्लो तहका सबै कर्मचारीको तलबमा देशको बजेट खर्च हुन्छ।’

विगतमा देशमा एउटा राजामात्रै भएको तर अहिले आएर सयौं राजा, सयौं युवराज र सयौं युवराज्ञीहरु बन्न थालेको पनि उनको आरोप छ। उनले भने, ‘हाम्रा नेता तथा मन्त्रीहरुलाई फरक कुर्सी चाहिन्छ। नेताहरुलाई खोकी लाग्यो भने उपचारको लागि विदेश जानुपर्छ।’ आफूहरुले प्रणालीलाई चलाउन नजानेको उनको टिप्पणी छ ।

नेता भण्डारीले व्यक्ति असफल भएपनि व्यवस्था कहिल्यैपनि असफल नहुने तर्क गरे। उनले भने, ‘हाम्रा थुप्रै कमिकमजोरीहरु छन्। यस्तो पाराले त जुनसुकै बेला दुर्घट्ना हुनसक्छ।’ उनले देशमा पछिल्लो समय देखिएको डेंगु संक्रमणलाई नियन्त्रण गर्नको लागि सरकार गम्भिर हुनुपर्ने पनि सुझाव दिए। उनले भने, ‘यदि डेंगु नियन्त्रण गर्न सेना सक्षम छ भने यसलाई प्रयोग गर्नुपर्छ । सरकारले यसबारेमा स्पष्ट कुरा गर्नुपर्छ। बोल्न डराउनुहुँदैन्। सेनापनि राज्यको संयन्त्र हो।’

उनले जनताका आवाज संसदमा त्यति उठ्न नसकेकोमा चिन्ता व्यक्त गरे । उनले थपे, ‘अहिले यसरी गौहत्या भएको छ । तर, संसदमा यो कुरा उठेको छैन् । मुलकुको धर्म, ‘संस्कृतिमाथि प्रहार गर्ने काम कतैबाट पनि गर्नुहुँदैन् ।’

भण्डारीले संघीय प्रणाली आफैंमा नराम्रो नभएको जिकिर गरे । उनले भने, ‘यो प्रणाली आफैंमा धेरै नराम्रो होईन, तर यो धेरै महँगो भयो भन्न थालिएको छ ।’ उनले वाईडबडी खरिद प्रकरणमा सरकार र अख्तियारले दोषीलाई कारबाही गर्नुपर्ने सुझाव दिए । उनले भने, ‘जोसुकै होस, यसमा दोषी देखिए कारबाही गरे भैगयो नि। किन कारबाही गर्न डराउनु ? तर, कारबाही निश्पक्ष हुनुपर्छ ।’

भण्डारीले देश बनाउने हो भने भ्रष्टाचारमा संलग्न जोसुकै भएपनि कारबाही गर्नुपर्ने धारणा राखे । उनले भने, ‘भ्रष्टाचारीहरुलाई धमाधम कारबाही गर्ने हो भने धेरै नेताहरु अहिले जेल पर्छन् । सरकारसँग काम गर्ने क्षमता छैन। भ्रष्टहरुलाई कारबाही गर्ने हुति छैन् ।’  उनले नेताहरुको पनि सम्पत्ति छानबिन गर्नुपर्ने माग गरे ।

आफ्नो पार्टीका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पनि वाईडबडी खरिद घोटालामा संलग्न दोषीहरुलाई कारबाही गर्नुपर्ने भनेर संसदमै बोलिसकेको भण्डारीले सुनाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *