ट्र्याक्टर दुर्घटनामा परी दुईको मृत्यु

डिसी नेपाल
१४ भदौ २०७६ २३:५२

रुकुमपश्चिम । रुकुम आठबीसकोट नगरपालिका–६ मन्काबगरमा आज बिहान ट्र्याक्ट दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

मृत्यु हुनेमा आठबीसकोट नगरपालिका–५ का १६ वर्षीय धनबहादुर विक र नाम नखुलेका एक जना रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए।

दुर्घटनामा परी घाइते भएका ट्र्याक्टर चालक आठबीसकोट नगरपालिका–६ दामाचौरका २० वर्षीय चन्द्रबहादुर वादी, सोही ठाउँका १७ वर्षीय बलबहादुर विक र सोही वडाको छिमीका १५ वर्षीय मोहन बोहराको आठबीसकोट नगर अस्पतालमा उपचार भइरहेका प्रहरी नायब उपरीक्षक खड्काले बताए।

घाइतेमध्ये चालक वादीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको उनको भनाइ छ।

दामाचौरबाट करपगार जाँदै गरेको भे १ च ७८९३ नंको ट्र्याक्टर सडकबाट करीब १०० मिटर तल भेरी नदीको किनारामा खसेर दुर्घटना भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *