सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

डिसी नेपाल
१५ भदौ २०७६ ०:१६

काठमाडौं । अछाम, रोल्पा, रुपन्देही र झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ।

अछाम, मेल्लेख गाउँपालिका ७ नदेगडास्थित सडकमा साँफे बगरबाट मेल्लेखतर्फ जाँदै गरेको से १ ज ९८६ नम्बरको जिप सडकबाट अन्दाजी ३ सय मिटर तल खसेर शुक्रबार साँझ दुर्घटना हुँदा जिपमा सवार मेल्लेख गाउँपालिका ७ नदेगडा बस्ने ३० वर्षीया कौशी साउद र ३१ वर्षीया किथ्थी साउदको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका चालक सहित ५ जनालाई उपचारको लागि न्याय हेल्थ अस्पताल बयलपाटा लगिएको छ।

रोल्पा, रोल्पा नगरपालिका ७ निम्रीस्थित सडकमा ना १ ज ४६५६ नम्बरको जिप सडकबाट अन्दाजी ८ सय मिटर तल माडी खोलाको बिचमा खसेर शुक्रबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका १० धङसी बस्ने ३२ वर्षीय दिल बहादुर बुढाको मृत्यु भएको छ।

रुपन्देही, सैनामैना नगरपालिका १ रानीकुवा चोकस्थित सडकमा लु १ ज १७४६ नम्बरको जिपको ठक्करबाट गम्भीर घाइते भएकी पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीया नन्दाकली सुबेदीको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको छ। जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

झापा, कन्काई नगरपालिका १ जामुनवारी चोकस्थित सडकमा को १ ख ७२०४ नम्बरको बसले मे ११ प ८९७७ नम्बरको स्कुटरलाई शनिबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएकी स्कुटर चालक भद्रपुर नगरपालिका(९ बस्ने २८ वर्षीया सुजना पोख्रेलको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको छ।

स्कुटरलाई ठक्कर दिई बस आफै अनियन्त्रित भई पल्टिँदा घाइते भएका अन्य १७ जनाको सोही अस्पतालमा उपचारको भइरहेको छ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *