नेपाल-भुटान व्यापारमा ‘ठूलो खाडल’, नेपाली बजारमा आलु पनि पठाउँछ भुटान

डिसी नेपाल
१६ भदौ २०७६ १२:४४

काठमाडौँ । भारत लगायत सामान आयात गरिने मुलुकहरूसँगको व्यापारमा बढ्दो घाटा बेहोरिरहेको नेपालले भुटानसँग पनि बर्सेनि घाटा बेहोरिरहेको छ। भूगोल, जनसङ्ख्या तथा यातायात पूर्वाधारका हिसाबले आफूभन्दा सानो मुलुक भुटानलाई नेपालले गत आर्थिक वर्षमा करिब १३ करोड रुपैयाँ बराबरको सामान मेची भन्सार कार्यालय काँकरभिट्टा हुँदै पठाएको थियो। सोही आर्थिक वर्षमा भुटानबाट आठगुणा बढी अर्थात् झन्डै एक अर्ब ५५ करोड रुपैयाँ मूल्य बराबरका सामान नेपाल आयात भएको थियो।

आर्थिक वर्ष २०७४/७५ मा भुटानबाट एक अर्ब नौ करोड रुपैयाँ मूल्य बराबरका सामान नेपाल आयात भएको मेची भन्सार कार्यालय काँकरभिट्टाले जनाएको छ। सोही आर्थिक वर्षमा नेपालबाट भुटान झन्डै साढे चार करोड मूल्य बराबरका सामान निर्यात भएको थियो।

के आउँछ, के जान्छ ?

भुटानबाट नेपाल आयात गरिने वस्तुहरूमा निर्माण सामग्री उत्पादनका लागि कच्चा पदार्थ विशेष छन्। सिमेन्ट उद्योगहरूमा चाहिने कच्चा पदार्थ, कोइला, विभिन्न प्रकारका पेय पदार्थ, विद्युतीय उपकरणहरू भुटानबाट नेपाल आयात हुने गरेको मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले बताए।

नेपालबाट भुटान निर्यात गरिने वस्तुहरूमा नेपालमा उत्पादित साबुन, चीज बल्स, जुत्ता, नेपाली हस्तकलाका वस्तु आदि छन्। भुटानबाट आलु आदि कृषि उत्पादन पनि नेपाल आयात हुनेगर्छ। तर ती वस्तुको मात्रा अन्य वस्तुको तुलनामा कम छ। नेपालबाट कृषि वस्तु भुटान लैजाने गरिएको छैन।

के भयो वार्तामा ?

नेपाल र भुटानबीच भएका पहिलो र दोस्रो व्यापारसम्बन्धी वार्ता भएको करिब आठ वर्षपछि केही दिनअघि तेस्रो वार्ता भएको छ। पहिलो वार्ता २०१० र दोस्रो वार्ता २०११ मा भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले बताए। उनले तेस्रो वार्ताले भुटानसँग व्यापार सम्झौताका लागि बाटो खुलेको जानकारी दिए।

ढकालले भने, “त्यत्रो समयसम्म गाँठो परेको अवस्थामा रहेको भुटानसँगको व्यापार सम्बन्धलाई जगाउने प्रयास हामीले गरेका छौँ।” उनले आगामी डिसेम्बर महिनामा हुने वार्तामा आयात तथा निर्यातका वस्तुलाई सूचीकृत गर्ने र ती वस्तुलाई नेपाल तथा भुटानमा भन्सार शुल्क मिनाहा वा छुट दिने विषयमा निर्णय हुने बताए। भुटान र नेपालबीच द्विपक्षीय व्यापार सम्झौताको मस्यौदा ‘ट्रेड अग्रीमन्ट ड्राफ्ट फ्रेमवर्क’मा प्राविधिक रूपमा सहमति भएको उनले जानकारी दिए।ढकालका अनुसार व्यापार सम्झौताका लागि एउटा मस्यौदा नेपाल र भुटानलाई मान्य हुनेगरी तयार पार्ने सहमति भएको छ।

कुन मार्गबाट हुन्छ व्यापार ?

नेपाल र भुटानबीचको व्यापारका लागि मुख्य नाका पूर्वी नाका काँकरभिट्टा रहेको मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले बताए। मेची भन्सार कार्यालय काँकरभिट्टा हुँदै नेपालबाट भुटान सामान निर्यात तथा भुटानबाट नेपाल सामान आयात हुने गरेको छ। नेपालको अन्य कुनै पनि नाकाले भुटानको स्थलमार्गलाई छोएको छैन।

पूर्वी द्वार काँकरभिट्टाबाट करिब चार घन्टाको यात्रापछि भुटान र भारतबीचको सीमा जयगाउँ-फुन्त्सोलिङ पुगिन्छ। यो नेपाल तथा भारतबाट भुटान प्रवेशका लागि मुख्यद्वार मानिन्छ। नेपालबाट भुटान सामान निर्यात गर्दा होस् वा भुटानबाट नेपाल सामान आयात गर्दा भारतको पनि बाटो प्रयोग गर्नुपर्ने हुन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *