साढे २५ लाखलाई आँखा उपचार सेवा

डिसी नेपाल
१६ भदौ २०७६ १९:४०

दाङ। नेपाल नेत्रज्योति सङ्घ दाङअन्तर्गत सञ्चालित राप्ती आँखा अस्पताल तथा सोअन्तर्गतका अस्पताल र उपचार केन्द्रले हालसम्म २५ लाख ४६ हजार १८७ को आँखा उपचार सेवा उपलब्ध गराएको छ ।

तीमध्ये तीन आँखा अस्पतालबाट १७ लाख ४३ हजार ५०४ को उपचार सेवा उपलब्ध गराएको छ । त्यस्तै विभिन्न दुर्गम स्थान र विद्यालयमा आँखा जाँच कार्यक्रम आयोजना गरी तीन लाख ८३ हजार १२३ र आँखा उपचार केन्द्रबाट चार लाख १९ हजार ५६० लाई आँखाको उपचार सेवा दिइएको अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले जानकारी दिए।

नेपाल नेत्रज्योति सङ्घअन्तर्गत दातृ निकाय एनएवीपीको सहयोगमा सञ्चालन भएको अस्पतालले हालसम्म एक लाख ६६ हजार ७०२ को मोतिया बिन्दुको शल्यक्रिया गरी नयाँ दृष्टि प्रदान गरिएको उनले बताए। तीमध्ये ३४ हजार ३२ को निःशुल्क शल्यक्रिया गरिएको बताइएको छ । सो अवधिमा दुर्गम क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर, आँखा उपचारसम्बन्धी सचेतना तालीम सञ्चालन गर्नाका साथै राप्तीमा रहेको ०.८७ प्रतिशत अन्धोपनलाई घटाएर हाल ०।१३ प्रतिशतमा ल्याउन सफल भएको थापाले जानकारी दिए।

हाल एनएवीपीको आंशिक सहयोगमा राप्ती आँखा अस्पताल, लमही आँखा अस्पताल, छन्द् कालेवावु नारायणी आँखा अस्पताल बहादुरगञ्ज र घोराही, रुकुम, रोल्पा, सल्यानमा उपचार केन्द्रबाट सेवा प्रदान गर्दै आएको अस्पतालले गुरुयोजनाबमोजिम भौतिक पूर्वाधारको विकास गर्ने, अस्पताललाई ‘टर्सरी वि लेबल’ का रुपमा स्तरवृद्धि गर्ने, सन् २०२४ सम्ममा आत्मनिर्भर बनाउने योजनासाथ अगाडि बढेको नेपाल नेत्रज्योति सङ्घका सभापति तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले बताए।

अस्पतालले पछिल्लो समयमा स्थानीय निकायसँग निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया साझेदारी कार्यक्रम सञ्चालन गरी पैसाको अभावका कारण उपचार सेवाबाट वञ्चित हुने अवस्थाको अत्य गरेको जनाएको छ । त्यस्तै उपचारका साथै विभिन्न शिक्षक, पत्रकार, महिला स्वयमसेवीका धामीझाक्रीलाई प्राथमिक आँखा उपचार तालीम सञ्चालन गरेको अस्पतालका बाह्य कार्यक्रम संयोजक नेत्रअधिकृत शालिकराम गौतमले जानकारी दिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *