राप्तीमा गोही छाडियो, वस्ती र पुलनजिकै गोही छाडेको भन्दै स्थानीयको विरोध

डिसी नेपाल
१७ भदौ २०७६ ७:०२

नेपालगञ्ज । जिल्ला वन डिभिजन कार्यालय बाँकेले अन्यत्रबाट गोही ल्याएर राप्ती नदीमा छाडेपछि स्थानीयवासीले विरोध जनाएका छन्। राप्ती क्षेत्रमा बस्ती नजिकै नदीको पुलमुनि गोही छाडेपछि स्थानीय र पशु चौपायालाई जोखिम बढेको भन्दै स्थानीयवासीले आक्रोश व्यक्त गरेका हुन्।

राप्ती पुल छेउमा मन्दिर पनि रहेकाले त्यहाँ दैनिक मानिस नुहाउने, पूजापाठ गर्ने, पशुचौपाया तर्ने भएकाले सो स्थानमा गोही छाडेपछि विरोध शुरु भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले बताए । वन डिभिजन कार्यालयले खजुरा गाउँपालिका उढरापुरका एक स्थानीयवासीको घरबाट उद्धार गरी करीब १२ किलोको एक वर्षको गोहीलाई राप्ती नदीमा आइतबार छाडेको थियो।

स्थानीयवासीको विरोधपछि गाउँपालिकाले समेत चासो देखाएर तत्काल वन कार्यालयसँग सम्पर्क गरी तीन दिनभित्र गोहीको खोजी गरी अन्यत्र व्यवस्थापन गर्न सोमबार पत्र लेखेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले राप्ती नदी नजिकै गाउँबस्ती रहेकाले मानिसले नुहाउने तथा आवतजावत गर्ने हुँदा उच्च जोखिम बढाएकाले त्यहाँ नछाडेर जङ्गल क्षेत्रअन्तर्गत नदीमा छाडनुपर्ने भन्दै त्यसको व्यवस्थापनका लागि पहल गरेको बताए।

वन डिभिजन प्रमुख मोहनप्रताप श्रेष्ठले गाउँबस्ती नजिकै छाडिएकाले जोखिम बढाएको स्वीकार गर्दै सानो गोही भएकाले बग्न सक्ने सम्भावना रहेको बताए। उनले त्यहाँ छाड्न नहुने गल्ती सच्याउँदै अब त्यसलाई खोजी गर्दा पनि फेला पार्न गाह्रो हुने बताए । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *